दशमीको उपलक्ष्यमा टेलिकमले विभिन्न छुट सेवा दिने

कपन अनलाइन 

काठमाडौं । नेपाल टेलिकमले विजया दशमीको उपलक्ष्यमा विभिन्न छुट सेवा दिने भएको छ । रिचार्जमा बोनसदेखि फोरजी सिम निःशुल्क सम्मका योजना टेलिकमले सार्वजनिक गरेको छ ।

रिचार्जमा बोनस
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बिहीबारदेखि आउँदो १० गतेसम्म ५० देखि एक हजार रुपैयाँसम्म रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने भएको छ । त्योभन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा पनि १० प्रतिशत बोनस दिने टेलिकमले जनाएको छ ।

युट्युब डाटा प्याकेज
जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि आउँदो १९ गतेसम्म लिइसक्नु पर्ने छ । यो प्याकेज लिनका लागि YT1GB वा YT500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

कम्बो प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन र ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि १९ गतेसम्म लिइसक्नु पर्ने छ ।

यो प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मीनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम लिनको लागि COMBO10 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि COMBO25, COMBO50, COMBO100 अथवा COMBO300 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । साथै *1415# डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

भ्वाइस प्याकेज
जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्क भित्र भ्वाइस प्याकेज अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुनेछ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि उपलब्ध हुनेछ । ५० रुपैयाँमा ७५ मीनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध हुनेछ । यो प्याकेज बिहीबारदेखि १९ गतेसम्म लिइसक्नु पर्ने छ।

यो प्याकेज अन्तर्गत अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल लिनको लागि VOICE11 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । त्यसैगरी अन्यको लागि VOICE30, VOICE75, VOICE200 अथवा VOICE650 टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ । साथै *1415# डायल गरेर पनि यो प्याकेज लिन सकिन्छ ।

पिएसटिएन सेवामा बोनस
पिएसटिएन (पोस्टपेड फिक्स्ड) सेवाका ग्राहकहरुलाई न्युनतम मासिक महसुल दुईसय रुपैयाँमा १७५ स्थानिय कल निःशुल्क उपलब्ध गराइरहेकोमा असोज र कात्तिक महिनामा एक सय स्थानिय कल थप गरी न्यूनतम मासिक महसुलमा कुल २ सय ७५ कल निःशुल्क उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

एडिएसएल, एफटीटीएच र वाइम्याक्स अफर
आउँदो ११ गतेदेखि १८ गतेभित्र अनलिमिटेड र भ्योलुम बेस एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि मिति १९ गतेसम्म थप पनि टेलिकमले जनाएको छ । त्यसैगरी आउँदो ११ गतेदेखि १८ गतेभित्र एफटीटीएच र वाइम्याक्स एकाउन्टको समयावधि समाप्त हुने ग्राहकहरुको समयावधि पनि १९ गतेसम्म थप गरिएको छ ।

एसएमएसमा छुट
जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्ट सेवामार्फत टेलिकमकै नेटवर्क भित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा मिति आउँदो ११ गतेदेखि १९ गतेसम्म ५० प्रतिशत छुट हुने भएको छ । त्यस अवधिमा टेलिकमको नेटवर्कभित्र ५० पैसामा एसएमएस गर्न सकिनेछ ।

फोरजी सिम निःशुल्क परिवर्तन
टेलिकमले बिहीबारदेखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) परिवर्तन निःशुल्क गर्ने भएको छ । यो सेवा टेलिकमका काठमाडौं, ललितपुर, भक्तपुर र कास्की जिल्लाका काउन्टरहरु मार्फत उपलब्ध हुनेछ ।

तपाइँको प्रतिक्रिया ।