त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

त्रिशूली जलविद्युत्को फ्युज शाखामा आगलागी

कपन अनलाइन 

नुवाकोट, २९ भाद्र ।

नेपाल विद्युत् प्राधिकरण, त्रिशूली जल विद्युत् उत्पादन गृहस्थित त्रिशूली फ्युज सेवा (नो लाइट)मा आगलागी हुदा केन्द्रबाट प्रवाह हुने विद्युत् सेवा अवरुद्ध भएको छ ।

बुधबार राति १० बजे त्रिशूली स्थित फ्युज सेवामा विद्युत् वितरण गर्न जडान गरिएको ‘इनकमर’ र वितरणको सातवटा फिडर रहेको फ्युज शाखामा अकस्मात् आगलागी हुदा विद्युत् वितरण सेवा अवरुद्ध भएको हो ।

विद्युत् वितरण गर्न जडित ‘इनकमर’ र फिडरमा आगो उत्पन्न भए लगत्तै बिधुत  गृह कर्मचारी, बिधुत गृह सुरक्षार्थ रहेको श्रीनाथ गण, देवीघाटको नेपाली सेना, नुवाकोट प्रहरी, विदुर नगरपालिकाको दमकल र स्थानीयवासीले करिब आधा घण्टामा नै नियन्त्रणमा लिएको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको छ । फ्युज शाखामा आगलागी भएपनि केन्द्रको उत्पादन जारी रहेको केन्द्रका प्रमुख अशोककुमार पण्डितले जानकारी दिएक छन् ।

आगलागीले पुर्याएको क्षतिको लगत संकलन आउन बाँकी रहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए  । “प्रारम्भिक अध्ययन अनुसार इनकमर पूर्ण रुपमा जलेर क्षति पुगेको छ ।” उनले भने “सातमध्ये केही फिडरमा क्षति देखिएकाले त्यसको परीक्षण पछि मर्मतमा जुट्ने ।”
आगलागीबाट पुगेको क्षतिको आज बिहानैदेखि नै मूल्यांकन भइरहेकाले लगतपश्चात् मर्मतको काम शुरु गरिने केन्द्रले तयारी गरेको छ ।

आगलागीले पूर्णक्षति बनाएको विद्युत् प्रवाह गर्ने इनकमरको रु १५ लाख र वितरण फिडरको रु १० लाख पर्ने भएकाले करिब रु एक करोडको क्षति भएको अनुमान गरिएको फ्युज शाखाका इञ्जिनियर रामबाबुकुमार दासले जानकारी दिएका छन् । दासका अनुसार मर्मतका लागि जिल्लामा प्राविधिक भए पनि उपकरण नै परिवर्तन गर्नुपर्ने देखिएकाले विद्युत् सेवा नियमित हुन कम्तीमा दुई दिन लाग्ने देखिएको छ ।

आगलागीले विद्युत् प्रशारणको इनकमर र वितरण फिडरमा क्षति पुर्याएकोले त्रिशूली जलविद्युत् केन्द्रमार्फत वितरण हुदै आएको नुवाकोट, रसुवा र धादिङमा  अवरुद्ध भएको छ ।

केन्द्रमार्फत वितरण भएको नुवाकोटको सदरमुकाम विदुर सहित आसपासको क्षेत्र, लिखु गाउँपालिका, सूर्यगढी गापा, किस्पाङ गापा, मेघाङ गापा, रसुवाको कालिका गापा, उत्तरगया गापा, नौकुण्ड गापा र धादिङको नेत्रावती गापालगायतका स्थानमा  बिधुत सेवा अबरुद्ध भएको छ ।

तपाइँको प्रतिक्रिया ।