तारकेश्वर नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु

तारकेश्वर नगरपालिका वडा नं ६ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन १५ ।

तारकेश्वर नगरपालिका वडा नं ६ मा रहेको १०० फिट गहिरो ठाउमा झुलुङे पुल बनाइ मिनि बन्जी जम्प चलाउनुका साथै बगेको पानीमा बाँध  बनाइ सानो टरबाइन सहित बिधुत उत्पादन गरी बिध्यार्थीको लागि अध्ययन भ्रमण केन्द्रको रुपमा बिकास गर्ने वडा नं ६ को मुख्य योजना रहेको वडा नं ६ का अध्यक्ष मधु कार्कीले बताए ।

यस वडामा रहेको खानेपानीको समस्या समाधानका लागी बोरिङ गरी ४ लाख क्षमताको रिजर्भ ट्याङक निर्माण भै सकेको र अव पाइप बितरण गर्दै वडा भरी  पुर्याउने  योजना रहेको वडा नं ६ का अध्यक्ष कार्कीले बताए ।

वडाका मुख्य र सहायक सडकहरुको निर्माण ,मर्मत र सुधार वडा नं ६ को अर्को प्राथमिक कार्य रहेको वडाले जनाएको छ । यस्ता सडक हरुमा नगरपालिका कार्यलय देखी  धर्मस्थली सम्मको बाटो ढलान गर्ने, ठकुरी दोबाटो तिमल्सिना टोल जाने बाटोमा पर्खाल  सहित ग्राबेल मर्मत गर्ने ,काभ्रेस्थली देखी  धर्मस्थली जोड्ने बाटो निर्माण , चिसापानी देखि फेदी जाने बाटो मर्मत सम्भार गर्ने र धर्मस्थलीको नेवारि बजार छिर्न प्रवेशद्वार निर्माण गर्ने योजना वडाको प्राथमिकतामा रहेका छन ।

यस वडाको अर्को योजनामा ग्राम सेवा बिधालय अगाडि रहेको पोखरी मर्मत गरि पानीको फोहोरा सहित आकर्षक पानी बगैचा बनाउने रहेको अध्यक्ष कार्कीले बताए ।यसका साथमा हाल नगरपालिका कार्यलय अगाडी रहेको बुद्धको चैत्य जुन स्वयम्भू भन्दा अगाडि बनेको इतिहास छ त्यसलाई संरक्षण गरी  पार्क निर्माण गर्ने योजना वडा नं ६ को रहेको छ ।

जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घरघरमा सम्बन्धित नागरिकको हातहातमा पुर्याउने योजना वडाको रहेको छ भने जेष्ठ नागरिकलाई सम्मान गर्ने र वडामा जेष्ठ नागरिक विश्राम स्थल निर्माण गर्ने योजना रहेको अध्यक्ष कार्कीले बताए ।

वडा भित्र रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी  रेखांकन र सिमांकन अगाडी बढाएको वडाले ति स्थानको सदुपयोग गर्ने विशेष योजना बनाउदै छ भने साबिक धर्मस्थली ६र८ मा वाल उद्यान निर्माण  गर्ने वडाको योजना रहेको छ ।

वातावरण संरक्षणका लागी प्लास्टिक झोला प्रयोगलाई न्यूनीकरणका लागी सचेतना कार्यक्रम संचालन गर्ने योजना बनाएको वडा नं ६ ले विभिन्न स्थानमा सौर्य बत्ती जडान गर्ने योजना पनि अगाडी सारेको छ ।

वडामा रहेका विद्यालयहरुलाई उचित सहयोग गरी वडालाई शैक्षिक रुपमा नमुना वडा निर्माण गर्ने लक्ष्य राखेको वडा नं ६ ले यसका लागी सम्बन्धित पक्षको सहभागितामा कार्यक्रम तय गर्ने बतायो ।

वडामा रहेका कृषि योग्य जमिनको समुचित प्रयोग गर्नका लागी आधुनिक औजारको प्रयोगमा जोड दिदै कृषि प्राबिधिक संग सहकार्य र समन्वय गरी किसानहरुलाई परामर्श तथा तालिम प्रदान गर्ने योजना वडा को रहेको छ ।

वडामा रहेको दङाल पुल  मर्मत गर्ने अर्को मुख्य योजना रहेको अध्यक्ष कार्कीले बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।