नेपाली फिल्ममा अब ‘अनमोल’ सत्ता

नेपाली फिल्ममा अब ‘अनमोल’ सत्ता

कपन अनलाइन 

काठमाडौं, २७ असार । ९० को दशकमा नेपाली फिल्म नगरीमा उदाएका राजेश हमालको ‘हिरोइजम’को पछिल्लो संस्करण हुन्, अनमोल केसी । केही वर्षअघि मात्र नेपाली फिल्म उद्योगमा उदाएका अभिनेता भुवन केसीपुत्र अनमोलले हिरोइजमको साख जोगाउनेमात्र होइन, अब फिल्म क्षेत्रको शेष पनि बाँकी राख्नसक्ने देखिन्छ । फिल्म उद्योगका सवै एकातिर र अनमोल अर्कातिर हुँदा ‘अनमोल’ भारी छन् ।

केही समयअघिसम्म निर्देशकले फिल्मलाई बचाउने, नाट्य अभिनेताहरूले उद्योगमा बाजी मार्नसक्ने अनुमान गरिएको थियो । तर, अब यो अनुमान विस्तारै असफल हुन थालेको छ । उद्योगमा राम्रो भनिएका निश्चल बस्नेत, दिपेन्द्र के खनाल, रामबाबु गुरुङजस्ता निर्देशकहरू क्रमिक रूपमा असफल भएपछि उद्योगको साख जोगाउने एकमात्र पात्र ‘अनमोल केसी’ देखिएका छन् । बस्नेतको लुट २, खनालको चपली हाइट २, गुरूङको पुरानो डुङ्गा त्यति उत्कृष्ट भएनन् ।

खनाल निर्देशित धनपति अहिले बजारमा छ मिश्रित प्रतिक्रिया छन् । तर, यसबीच अनमोलको आउँदै गरेको फिल्मको पर्खाइ धेरै दर्शकलाई छ ‘कृ’ पोस्टर नै सामाजिक सञ्जाल र मिडियामा पर्याप्त हेर्नुका साथै शेयर भइसकेको छ ।अनमोलको चर्चा दिनप्रतिदिन उकालो लागिरहेको छ । उनको पहिलो फिल्म होस्टेल थियो, जसले अपार आम्दानीमात्र गरेन नयाँ पुस्तालाई फिल्मनगरीमा स्थापित गराउन सकिन्छ भन्ने सन्देश दियो । त्यसले एउटा पुस्ताको प्रतिनिधित्व गरेपनि फिल्मबाट एकजना मात्रै बजारमा चल्यो, अनमोल केसी ।

अनमोलको अर्को सोलो फिल्म आयो जेरी । जसलाई दर्शकले मन पराउनुको कारण नै, उनी थिए । फिल्मले हलहरू कव्जा गर्दै उत्कृष्ट व्यापार गर्न सफल भयो । अनमोलको क्रेज पहिलेको भन्दा दुईगुणा बढ्यो । अनमोलको अभिनय एकैप्रकारको मात्र भयो भनेर कटाक्ष हुँदा पनि उनको शैलीमा नआएको तात्विक परिवर्तनबीच उनका फिल्म चले । ‘यसलाई हिरोइजमको एउटा पाटो भन्न सकिन्छ । जति फिल्म आएका छन्, तिनले बजार राम्रोसँग चलेका छन् ।’, निर्माता प्रस्तुतकर्ता तथा अभिनेता भानु प्रताप भन्छन्,‘नाटक विधाबाट पनि फिल्म राम्रो बनेका थिए तर पछिल्ला केही वर्षमा उत्कृष्ट देखिएन । थिएटर आर्टिस्टले उद्योगमा केही परिवर्तन त ल्याए तर त्यो दिर्घकालिन धान्ने खालको देखिएन । हिरोइजम नै उद्योगमा चल्छ भन्ने प्रमाण देखा परिसक्यो ।’

अनमोलको दोस्रो फिल्म ड्रिम्स जसको निर्देशक भुवक केसी आफैं भएपनि चर्चाको सवै श्रेय अनमोलले पाए । र, तेस्रो गाजलुले पनि उत्कृष्ट व्यापार गरी चर्चा कमायो । उनको यो लोकप्रियताले निर्माता र निर्देशकहरू छक्क परेकै छन्, उनकै संस्करणका अन्य अभिनयकर्ताको खोजी गर्न पनि चुकेनन् । ‘अनमोलको लुक्सले स्थातिप गरेको चल्ती थियो । जसलाई अरूले पछ्याए ।’, निर्माता भानु प्रताप भन्छन्,‘यहि हो, हिरोइजम भनेको ।’


राम्रै निर्देशकको हातमा रहेका फिल्महरू पनि डुबे । हाँसले दुध र पानी छुट्याएझैं असल र खराब चिजलाई दर्शकले राम्रोसँग छुट्याउन सके । ‘अहिलेको दर्शकलाई कमजोर भन्न मिल्दैन । दर्शकले सवैकुरा छुट्याउने सक्षमता देखाउँछन् । अबको समय कस्तो आयो भन्ने पनि दर्शकले छुट्याएका कारणले नै अनमोल समय आएको भन्ने पुष्टि हुन्छ ।’, फिल्म पत्रकार सामिप्यराज तिमल्सिना भन्छन्,‘फिल्म क्षेत्रमा यस्तो भइरहन्छ । तर, अनमोलको समय कति लामो चल्नेछ वा कति टिकाउन सक्छन् भन्नेमा भर पर्छ ।’

सँधै हिरोइजम मात्रै चल्छ भन्ने पनि हुँदैन, फिल्ममा । बलिउडमा चलेका खानहरूका पछिल्ला फिल्महरूले ल्याएको नतिजा निराशाजनक छ । तर, उनीहरूको सत्ता भने गुमेको छैन । अझै फ्यान र दर्शक तीन खानका फिल्मका पर्खाइमा नै हुन्छन् । अनमोल पनि सोही बाटोमा छन् । उनी चुजी छन् । आएका अफरअनुसार फिल्म खेलीहाल्ने प्रवित्तिका छैनन् ।

पछिल्लो पटक उनको आउँदै गरेको फिल्म ‘कृ’को फस्ट लुक्सले नै उनको उचाईमा नयाँ इटा थपिसकेको छ । ‘यसका लागि जति मिहेनत गरेका छन्, त्यसले पनि उनको हिरोइजम कायम राख्यो । मान्छेलाई अनमोल खोजी र चासोको विषय बन्नु नै उनको लोकप्रियताको बर्षहरू चल्नु हो ।’, फिल्म निर्देशक देवकुमार श्रेष्ठ भन्छन्,‘नयाँपन त्यहि हो, जुन एक पात्रले अनेक फिल्ममा नयाँ नयाँ चीज दिन्छ । अनमोलले प्रत्येक फिल्ममा नयाँ र भरपर्दा हिरोइन दिएका छन् ।’

नेपाली फिल्म उद्योगमा सक्रिय भएका कलाकारहरूको राम्रो प्रस्तुती हुँदाहुँदै पनि फितलो बन्ने कारण व्यावसायीक सुरक्षा नहुनु रहेकाले पनि एकाध कलाकारमात्र हिरोइजम टिकाउन सफल भएका छन् । एउटा संभ्रान्त परिवारबाट आएका कारणले राजेश हमालका लागि समय सफल बनिदियो, फिल्मी दुनियाँमा बाबुले स्थापित गरेको सत्ताको निरन्तरता हिसावले अनमोल चम्किने निश्चित रहेको धेरैले अनुमान गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।