बेदकोटमा भ्यू टावर निर्माण कार्य सुरु
कपन अनलाइन
कञ्चनपुर, २ असार । आन्तरिक तथा बाह्य पर्यटक भित्रियाउने उद्देश्यले कञ्चनपुरको बेदकोट ताल क्षेत्रमा भ्यू टावर निर्माण कार्य सुरु गरिएको छ । रु ६० लाखको लागतमा निर्माण हुने उक्त टावर छ तलेको हुनेछ । कुल लागतमध्ये बेदकोट नगरपालिकाको ३० प्रतिशत र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ७० प्रतिशत रहेको नगरपालिकाका प्राविधिक सहायक सिद्धराज ओझाले बताउनुुभयो ।
भ्यू टावर निर्माणको कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने गरी निर्माण भइरहेको उहाँले बताउनुभयो । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकन गर्नुका साथै तराई क्षेत्रको हरियाली मनोरम दृश्य नियाल्न सकिने छ ।
बेदकोट क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोजस्थल रुपमा र बाह्य पर्यटकका लागि तराईको मनोरम दृष्य नियाल्नका लागि प्रख्यात छ ।
बेदकोट क्षेत्र बाह्य कोलाहल बाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेहरुका लागि गतिलो गन्तव्यका रुपमा रहेको छ । परापूर्वकालमा वनवासका क्रममा पाण्डवहरुले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति छ । यो क्षेत्र प्राचिनकालमा ऋषिमुनिहरुको तपोभूमिका रुपमा समेत परिचित रहेको थियो ।
उद्यान निर्माणको कार्य शुरु
बेदकोट नगरपालिकास्थित चौधर नदीको किनारामा रहेको जग्गामा बनस्पति उद्यान निर्माणको कार्यलाई समेत अगाडी बढाएको छ । बेदकोट नगरपालीकाको रु ५८ लाखको लागतमा सो उद्यान(पार्क)को निर्माण कार्य सुरु भएको हो । आधुनिक डिजायनका आधारमा उद्यानको निर्माण कार्य सुरु गरिएको प्राविधिक सहायक ओझाले बताउनु भयो । रासस