काभ्रेपलाञ्चोकमा पुनः निर्माणको काम करिब १० प्रतिशत
कपन अनलाइन
बनेपा, २२ जेठ । काभ्रेपलाञ्चोकमा अहिलेसम्म पुनः निर्माणको काम करिब १० प्रतिशतको हाराहारीमा भएको छ । विसं २०७३ भदौमा निजी आवास अनुदान सम्झौताको प्रथम किस्ता वितरणदेखि अहिलेसम्म १० महिनाको अवधिमा झन्डै ६ हजार ३०० घर पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले जानकारी दिनुभयो । जिल्लामा भुक्तानीका लागि सिफारिस भएका लाभग्राहीको सङ्ख्या ६३ हजार ५९६ रहेको छ ।
उहाँले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर पुनःनिर्मााणको काम तीव्र भएकाले पुनः निर्माण भएको घर सङ्ख्या केही दिनमा नै बढ्ने उल्लेख गर्दै इन्जिनियर प्रमाणीकरणका लागि घर घरमा गइरहेको बताउनुभयो ।
काभ्रेपलाञ्चोकमा भूकम्पपीडितमध्ये ६१ हजार २२२ जनाले नेपाल सरकारबाट प्रथम किस्ता बापतको रकम पाएका छन् भने विभिन्न गैरसरकारी संस्थाबाट दुई हजार ३७४ जनाले प्रथम किस्ता बापतको रकम बुझेका छन् ।
त्यस्तै, दोस्रो किस्ता पाउनेको सङ्ख्या दुई हजार ३७ नेपाल सरकारबाट र विभिन्न गैरसरकारी संस्थाबाट २४४ जनाले दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका प्रमुख ध्रुवराज गैडाले भन्नुभयो, “पुनःनिर्मााणका लागि इन्जिनियरद्वारा प्रमाणीकरण गर्न सहरी विकास तथा डिभिजन कार्यालय, धुलिखेलमा ५० हजार भूकम्पपीडितको आवेदन परेको छ ।”
जिल्लामा गुनासो सम्बोधनका लागि २३ हजार ९०२ जनाको आवेदन परेकामा १९ हजार ६३१ को फछ्र्योट भएको छ । भूकम्पपीडितले पुनः निर्माणको काम सुस्त भएकाले जनजीवन कष्टकर भएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । रासस