सडक खन्दा सिँचाइबाट वञ्चित

कपन अनलाइन 

बागलुङ, १८ जेठ । कालीगण्डकी करिडोर निर्माणका क्रममा दुई वर्षअघि क्षति पुगेको सिँचाइ आयोजना अझै बन्न सकेको छैन । सिँचाइ अभावले बागलुङ नगरपालिका–१४ नारायणस्थान, कैयाका किसान खेती गर्नबाट वञ्चित भएका छन् । सडक खन्दा तीनवटा कुलो पुरिएको कैया–धापाखोला सिँचाइ आयोजना, उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । सिँचाइ अभावका कारण यहाँ करिब ३०० रोपनी खेत बाँझो छ ।

किसानले गत वर्ष यहाँ ५० प्रतिशत जमिनमा मात्र रोपाइँ गर्न पाएका थिए । मर्मतपछि एउटा कुलोमा पानी सुचारु भए पनि बाँकी दुईवटा कुलोको अझै मर्मत सम्भार हुन नसकेको समितिका अध्यक्ष थापाले बताउनुभयो ।

छसय मिटर लामो कुलोमा क्षति पुगेको छ । सिँचाइको अभावका कारण यहाँका किसानले धानको बीउ राख्न पाएका छैनन् । गत वर्ष सो आयोजनालाई रु ५० लाख बजेट विनियोजन भए पनि ‘फ्रिज’ भएको उपभोक्ता समितिका सचिव काशीराम शर्माले बताउनुभयो ।

गत वर्ष सिँचाइ असुविधाका कारण उत्पादनमा समेत ह्रास आएको किसान बताउँछन् । गत वर्ष धान उत्पादन करिब ७० प्रतिशतले घटेको थियो । दुई सय ५० घरपरिवार रहेको कैया खाद्यन्न र तरकारी बालीका लागि उर्बर क्षेत्र मानिन्छ ।

करिडोर निर्माण कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले सडक खन्दा खसेको पहिरो छिट्टै हटाइने बताउनुभयो । करिडोर आयोजनाले सामान्य मर्मत गरे पनि दीर्घकालीन व्यवस्थापनको लागि स्थानीयले अग्रसरता लिनुपर्ने उहाँको भनाइ थियो । रासस

तपाइँको प्रतिक्रिया ।