काठमाडौँमा फेरी स्वाइनफ्लु देखियो

कपन अनलाइन, काठमाडौँ। गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ । अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि देखिएको डा पुनको भनाइ छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो ।

 

 

उनले भने, ‘‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्ने पनि धेरै सम्भवना रहन्छ । त्यसका लागि पनि सजग हुन आवश्यक छ ।” डेढ हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शङ्का लागेर जाँच गर्दा भाइरस भएको पुष्टि भएको हो । डा पुनले प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई सो भाइरसले छिटो प्रभाव पार्ने भएकाले यसको भ्याक्सिन यस्ता व्यक्तिलाई समयमै लगाउन सके जोखिमबाट बच्न सकिने बताए ।

 

 

खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ । स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने बताइएको छ ।

 

 

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

तपाइँको प्रतिक्रिया ।