सर्वसम्मत गर्न सकिएन भने सिडयोले गरेजस्तो माइन्युट नगर्नु : महासचिव इश्वर पोखरेल

कपन अनलाइन 

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमाले चुनावी प्रचार प्रसारमा गम्भीरताका साथ जुटेको छ । वुनपा १० मा आयोजित एक कार्यक्रममा पार्टी महासचिव इश्वर पोखरेलद्वारा चुनाव प्रचारप्रसार शुरु गरिएको हो । एमाले नगर समन्वय कमिटिले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले एमाले स्थानीय निकाय चुनाव जित्ने अवस्थामा छ भन्दै गुटगत समस्या पार्टीभित्र रहे पनि मिलाएर लान सकिने अबस्थामा रहेको बताए । पोखरेलले चुनाव जित्नका लागि उम्मेदवार सकेसम्म सर्वसम्मत गर्न भन्दै सर्वसम्मत उम्मेदवार भनेको आधा चुनाव जित्नु हो भने ।

उनले सर्वसम्मत गर्न सकिएन भने सिडयोले माइन्युट गरेजस्तो उपस्थिति जनाएर पछि निर्णय नगर्न निर्देशन दिए ।

वुनपाको सबैभन्दा ठूलो वडामा भएको विशेष कार्यक्रमा उनले गुट उपगुटका नाममा आफूलाई फोन नगर्न पनि स्थानीय नेता कार्यकर्तालाई अनुरोध गरे । कार्यक्रममा बुनपामा एमालेबाट मेयर पदमा दावी गर्ने कुसुम कार्की, जयराम थापा, मिठाराम अधिकारी, उद्धव खरेल, बालकृष्ण श्रेष्ठ, दीपक निरौलालगायतको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले जिल्ला संगठन कमिटिका अध्यक्ष कृष्ण राईले बौद्धिकता, लोकप्रियता र सांगठनिक क्षमताको आधारमा टिकट वितरण गरिने जनाउँदै सबैलाई स्वच्छ प्रतिस्पर्धामा उत्रिन अनुरोध गरे । कार्यक्रममा करिब ५०० संगठित कार्यकर्ता तथा स्थानीय नेताहरुको उपस्थिति थियो ।

नगर समन्वय कमिटि र प्रदेश नम्बर ३ प्रचार विभागबीच असमझदारी

यसैबीच नगर समन्वय कमिटिका संयोजक तथा जिल्ला प्रचार विभाग प्रमुख दीपक निरौलाले प्रदेश नम्बर ३ प्रचार विभागलाई अपमानजनक व्यवहारगरेको  आरोप लागेको छ । नेकपा एमाले केन्द्रीय प्रचार विभागले ल्याएको  “एक निकाय एक पत्रकार”, अर्थहिन बताउँदै  खिल्ली उडाउने र   समन्वय नगरेको आरोप लागेको छ ।

आज नगरको प्रचार प्रसारको बारेमा बुझ्न आएका प्रदेश नम्बर ३ प्रचार विभागका संयोजक तथा प्रेस चौतारी नेपालका प्रदेश नंबर ३ उपाध्यक्ष विश्वमणि सुवेदीलाई निरौलाले अपमान गरेको बताइएको छ । यस विषयमा कुरा गर्दै सुवेदीले यो विषय आफूले केन्द्रिय प्रचार विभागमा उठाउने बताए । त्यसैगरी निरौलाले यस सम्बन्धमा भातृ संगठनहरुलाई स्थान दिन नसकिने बताए । निरौलाले स्थान नदिने बताएपछि यो असमझदारी लम्बिने भएको छ ।

एमाले जिल्ला संगठन कमिटिका अध्यक्ष कृष्ण राइले यो बारे विस्तृतरुपमा बुझ्ने क्रममा रहेको बताए  । निरौलाको मपाइत्वलाई प्रेस चौतारी नेपालका जिल्ला सदस्यहरुले बिरोध गरेका छन् । प्रेस चौतारी नेपाल यस विषयमा केन्द्रिय प्रचार प्रसार विभाग डेलिगेसन जाने बताइएको छ । निरौला आफ्नो बोलीका कारण बेलाबेलामा विवाद आउने गरेका छन् ।

केही समयअघि पनि निरौलाले आफूभन्दा ठूलो प्रदेश कमिटका सदस्यलाई सार्वजनिक कार्यक्रमबाट निर्देशन दिएर व्यापक आलोचित भएका थिए । निरौलाको यो कृयाकलापले चुनावको मुखमा जिल्ला कमिटि नै विवादमा पर्ने देखिएको छ ।

तपाइँको प्रतिक्रिया ।