गाउँपालिकाको केन्द्र तकसेरा नभए निर्वाचन बहिष्कार

कपन अनलाइन 

रुकुम, १९ चैत । रुकुमको तकसेरावासीले आफ्नो ठाउँमा पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र नभएमा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

गाउँपालिकाको केन्द्र अन्यत्र बनाएर निर्वाचन गर्न खोजे कडा प्रतिकार गर्ने उनीहरुको भनाइ छ । आज मुसिकोट खलङ्गामा पत्रकार सम्मेलन गर्दै स्थानीयवासीले सरकारले प्रकाशन गरेको राजपत्रमा पुथा उत्तरगङ्गाको केन्द्र साविकको कोल गाविसमा तोकेकाले सो निर्णय सच्याउन माग गरेका छन् । कोललाई केन्द्र नमान्ने भन्दै स्थानीयवासीले अहिलेसम्म गाउँपालिकाको कार्यालय उद्घाटन गर्न दिएका छैनन् ।

तकसेरा आन्दोलन सङ्घर्ष समितिका संयोजक जुद्ध बुढामगरले सबै राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताले सदस्यता समेत त्यागेका बताउनुभयो । आयोगले तोकेको सबै मापदण्ड पुगे पनि राजनीतिक दल र केही व्यक्तिको स्वार्थका कारण तकसेरामा केन्द्र नबनाइएको भन्दै तकसेरावासी गत कात्तिक महिनाबाट आन्दोलन गर्दै आएका छन् । केन्द्रको माग गर्दै एक हजारभन्दा बढी तकसेरावासी अहिले सदरमुकाम मुसिकोट खलङ्गा आएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।