फोन गर्न चारघन्टा पैदल हिँड्छन्, प्रहरी कर्मचारी
कपन अनलाइन
जुम्ला, १ चैत । यहाँको ताम्ती गाविस टोप्लास्थित अस्थायी प्रहरी चौकीका प्रहरीलाई फोन सम्पर्कका लागि ३ घन्टा पैदल हिँड्नु पर्दछ । ताम्ती गाविसमा नेपाल टेलिकमको जिएसएम टावर नै छैन र सिडिएमए सहज पहुँचमा नहुँदा भनेको बेला फोन सम्पर्क नसकिएको स्थानीयवासी बताउँछन् ।
गाविसमा ठूला घटना पर्दा जिल्लामा सम्पर्क गर्ने सञ्चारको सहज माध्यम नहुँदा ४ घन्टाको पैदल बाटो हिँडेर कुडारी गाविसमा पुगेपछि फोन सम्पर्क गर्नु परेको अस्थायी प्रहरी ताम्तीका इन्चार्ज जीवराज योगीले जानकारी दिनुभयो ।
सानातिना घटना यहीँ समाधान भए पनि ठूला घटनाका लागि जिल्लामा सम्पर्क गर्नुपर्दछ, तर भनेको बेला माथिल्लो निकायमा कुनै पनि कुरा जानकारी गराउन पाइँदैन, ईञ्चार्ज योगीले दुःख पोख्नुभयो ।
प्रहरी हबल्दार वीरबहादुर शाहीले फोन, मोबाइल मात्र नभएर रेडियो, एफएम पनि सुन्न नपाइएको गुनासो गर्नुभयो । “रेडियो नेपाल सुन्नलाई अलि अग्लो ढिस्कोमा जानुपर्छ, तर पनि राम्रोसँग लाग्दैन,” हबल्दार शाहीले भन्नुभयो ।
स्काई फोन राम्रोसँग नलाग्दा नागरिकलाई सञ्चार गर्न गाह्रो भएको कालिका मावि ताम्ती टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिनुभयो । “न यहाँ स्काई टावर छ, न त नमस्ते टावर नै । धेरै पटक पहल गरियो, त्यसको राम्रोसँग सुनुवाइ हुन सकेको छैन,” प्रधानाध्यापक शाहीले भन्नुभयो । स्थानीय माया शाहीले भने सरकारले दुर्गमवासीलाई बेवास्ता गरेर हरेक कुरामा पछि पारेको आरोप लगाइन् ।
नेपाल टेलिकम जुम्लाका प्रमुख श्रीधर अधिकारीले नमस्ते टावर राख्नका लागि प्राविधिक टोली सर्भे गर्न ताम्ती पुगेको बताउनुभयो । ताम्तीबाट पटक पटक सञ्चारसम्बन्धी समस्याको गुनासो आएकाले पहिलो प्राथमिकता साथ नमस्ते टावर निर्माण गर्न थालिएको प्रमुख अधिकारीले जनाउनुभयो । उहाँका अनुसार स्काई सेवा सहज बनाउन क्षमता विस्तार गरिनेछ । रासस