राममन्दिर पुनर्निर्माणका लागि रु ६६ लाख सङ्कलन

कपन अनलाइन 

नुवाकोट, २५ फागुन । मुलुककै प्रसिद्ध नुवाकोट जिल्ला त्रिशूलीस्थित राममन्दिर पुनर्निर्माणका लागी लगाइएको ‘रामचरित मानस’मा करिब रु ६६ लाख रकम बचत भएको छ ।

तेह्र दिन सञ्चालन भएको रामचरित मानस बाचनमा रु ७४ लाख ३३ हजार सङ्कलन भएको र रु आठ लाख ६० हजार खर्च भएकाले रु ६५ लाख ७३ हजार रकम मन्दिर पुनर्निर्माणका लागि बचत भएको राममन्दिर पुनर्निर्माण समितिका ंसंयोजक धनबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार भगवान् रामको कथा वाचनका क्रममा चन्दा सहयोगबाट रु ७० लाख ९६ हजार, कलश यात्रामा सहभागी हुनेबाट तीनलाख चारहजार, टीकादक्षिणाबाट १३ हजार तीन सय र सङ्कलन भएको रकमलाई वित्तीय संस्थामा राखेर रु चारहजार एकसय ब्याज सङ्कलन हुँदा आम्दानी रु ७४ लाख ३३ हजार भएको छ ।

तेह्र दिनसम्म रामकथा वाचन गर्दा विभिन्न १९ शीर्षकमा रु आठ लाख ६० हजार खर्च भएकाले अब मन्दिर पुनर्निर्माणका लागि रु ६५ लाख ७३ हजार सङ्कलन भएको छ ।

संयोजक श्रेष्ठले भन्नुभयो, “भूकम्पले क्षति पुगेको राम मन्दिरको पुनर्निर्माणमा राज्य तथा सामाजिक संस्थाले बेवास्ता गरेपछि स्थानीयवासी आर्थिक सङ्कलन अभियानमा जुटेका हौँ ।” बचत भएको रकम अहिले वित्तीय संस्थामा जम्मा गरेकाले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने राम मन्दिर सञ्चालक समितिको सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्रिशूलीको पुरानो बजारस्थित पवित्र त्रिशूली नदी किनारमा रहेको भगवान् श्रीरामको मन्दिरलाई पूर्ववत् रुपमा नै निर्माण गर्न करिब रु एक करोड ३० लाख लाग्ने प्राविधिक अध्ययनमा देखिएको छ । पुनर्निर्माणका लागि स्रोत जुटाउन स्थानीयवासीले विभिन्न प्रयास जारी राख्दै आएका छन् । रासस

तपाइँको प्रतिक्रिया ।