बुनपा सार्वजनिक जग्गा, खोला, खोल्सी संरक्षणमा तात्यो, डोजर चलाउन रोक !

कपन अनलाइन, काठमाडौँ । बुढानिलकण्ठ नगरपालिकाले नगर क्षेत्रभित्र विना स्वीकृति डोजर चलाउन र सार्वजनिक जग्गा छुन नपाउने नियमलााई कडाइका साथ अगाडि बढाएको छ । नगरपालिकाले सर्बसाधारणलाई जानकारीका लागि भनेर जारी गरेको सूचनामा सिफारिस स्वीकृतिबिना व्यक्तिगत जग्गा सम्याउने, व्यक्तिगत हो भनि आफू खुशी डोजर लगाएर घडेरी विकास गर्ने कामलाई रोकेको छ । सूचनामा सार्वजनिक खोला, खोल्सामा ढल निर्माण गर्ने ढल हाल्ने काम नगर्न भनिएको छ । त्यसैगरी सूचनामा सार्वजनिक जग्गा, खोला, खोल्सीमा बाटो बनाउने काम भएकोले तत्काल रोक्न पनि उल्लेख गरिएको छ ।

 
नगरपालिका कार्यकारी अधिकृत विश्वराज मरासैनीले जारी गरेको सूचनामा सर्वसाधारणलाई पनि सम्बोधन गरिएको छ । सो सूचना नगरपालिकाले नागरिक वडा मञ्च, प्रहरी प्रभाग तथा प्लटिङ व्यवसायीलाई पठाइएको जनाएको छ ।

 
विशेष गरेर सार्वजनिक क्षेत्रसँग जोडिएका घडेरीहरु खरिद गर्दा सर्वसाधरणले ध्यान पुर्याउने पर्ने कुरामा सूचनाले जोड दिएको छ । नगरपालिकामा मरासैनी कार्यकारी अधिकृत बनेर आएपछि सार्वजनिक सम्पत्तिको सुरक्षाको विषय प्राथमिकतामा परेको छ ।

तपाइँको प्रतिक्रिया ।