रक्सीले मातेको झोकमा प्रनाउलाई गालीगलौज गर्दा …

कपन अनलाइन 

खोटाङ, २ फागुन । रक्सीले मातेको झोकमा प्रहरी नायब उपरीक्षकलाई गालीगलौज गर्दा खोटाङका एक युवामाथि सार्वजनिक मुद्दा लगाइएको छ ।

मातेकै सुरमा तीनजना साथीलाई बोकेर मोटरसाइकल चलाइरहेका अवस्थामा सोधपुछ गर्दा जिप्रका, खोटाङका प्रनाउ नवीनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रवीण राईलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो ।

मादक पदार्थ सेवन गरेको अवस्थामा राईले आइतबार फोक्सिङ्टारमा प्रहरी पोसाकमै रहेका प्रनाउ प्रधानलाई गालीगलौज गरेको प्रहरीले जनाएको छ । बिना हेल्मेट एउटै मोटरसाइकलमा तीनजना चढेको भेटिएपछि सोधपुछ गरेकामा राईले प्रनाउ प्रधानलाई उल्टै गालीगलौज गरेको जनाइएको छ ।

मातेर धङ्धङ्गिएका राईले प्रनाउ प्रधानलाई गालीगलौज र हातपातको प्रयाससमेत गरेपछि पक्राउ गरेर आज सार्वजनिक मुद्दा चलाइएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित फोक्सिङ्टारको बेलिब्रिज अनुगमन निरीक्षणमा गएका प्रनाउ प्रधानलाई राईले आइतबार दिउँसो गालीगलौज गरेका थिए ।

स्थानीयवासीलाई ट्राफिक नियमको विषयमा सोधेको भन्दै राई आफूमाथि आइलागेको प्रनाउ प्रधानले बताउनुभयो । पक्राउ परेका राईलाई हिरासतमा राखेर कारबाही थालिएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।