आइतबार बुनपालगायत देशभरका स्थानीय निकायमा कर्मचारीद्वारा ताला बन्दी

आइतबार बुनपालगायत देशभरका स्थानीय निकायमा कर्मचारीद्वारा ताला बन्दी

कपन अनलाइन, काठमाडौ । स्थानीय निकायका कर्मचारीहरूले आइतबार स्थानीय निकायका सबै सेवाहरू बन्द गरेका छन् । २५ माघदेखि हातमा कालोपट्टी बाँधेर कलम बन्द गरी विरोध गरिरहेका कर्मचारीले बुनपाको सेवा बन्द गरेका हुन् ।

 

स्थानीय निकायमा कार्यरत कर्मचारी र अन्य कर्मचारीलाई मिलाएर तह तथा श्रेणीगत रूपमा समायोजन गर्नुपर्ने लगायत माग राखी आन्दोलन गर्दै आएको स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समिति बुनपाका अध्यक्ष अच्युत खड्काले बताए ।

 

स्थानीय तहको चुनाव छिटै घोषणा गर्नुपर्ने, क्षमताका आधारमा जिम्मेवारी दिनु पर्नेलगायत ६ बुँदे माग राख्दै आफूहरूले आन्दोलन गरिरहेको उनले बताए । राष्ट्रिय स्तरबाट १८ माघदेखि विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरू शुरू गर्ने  भनिए पनि  २३ माघबाट आन्दोलनको कार्यक्रमहरू सुरु भएको थियो ।

 

युनियनले आफ्ना मागहरू पूरा नभएसम्म स्थानीय निकायको कामकाज ठप्प पार्ने, कार्यालयमा धर्ना दिने लगायतका कार्यक्रममा निरन्तरता दिने बताएको छ । स्थानीय निकायका कर्मचारीहरूको आन्दोलनका कारण बुनपालगायत देशभरका सेवाग्राही सेवा लिनबाट वञ्चित छन् ।

स्थानीय निकायको निर्वाचन अविलम्ब गर्नुपर्ने, नयाँ संविधानको मर्म र भावनाअनुरूप स्थानीय तहबाट जनअपेक्षाबमोजिमको प्रभावकारी सेवा प्रवाह गर्नसक्ने सांगठनिक संरचना र जनशक्तिको व्यवस्था गर्नुपर्ने माग रहेका छन् ।

सबै कार्यालयमा असल कार्य संस्कृति र उचित कार्य वातावरणको सिर्जना गर्न निश्चित नीति, योजना तथा कार्यक्रम ल्याउनुपर्ने र स्थानीय निकायमा लामो समयदेखि अस्थायी तथा करारमा रही आफ्नो जीवनको ऊर्जाशील समय जनताको सेवामा व्यतीत गरेका ६ हजार कर्मचारीको सेवालाई निरन्तरता दिँदै अब बन्ने ऐननियम, कार्यविधि, गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन हुनुपर्नेजस्ता माग राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।