कपनको महांकाल मन्दिरको बाटोका लागि जनता जुटे

कपनको महांकाल मन्दिरको बाटोका लागि जनता जुटे

कपन अनलाइन, काठमाडौँ/ कपनको पहिचानसँग सम्बन्धित मानिने कपनगढी र यसै गढीसँगै रहेको महांकाल मन्दिर संरक्षणका लागि स्थानीय कपनवासीहरु जुटेका छन् । हाल कपन गुम्बाभित्र परेको गढी र मन्दिरका लागि छुट्टै बाटो र त्यहाँस्थित सार्वजनिक जग्गा छुट्याउनका लागि स्थानीयहरुले आज एक जुलुस प्रदर्शन गरेका छन् ।

संख घण्टसहितको सो जुलुसमा स्थानीय बासिन्दाहरुका साथ समाजसेवी र राजनीतिक कार्यकर्ताको सहभागिता थियो । र्याली कपन गुम्बाभित्र रहेको कपनगढी र महांकाल मन्दिर स्थलमा भने गएन । कपनस्थित कृष्ण मन्दिर परिसरबाट शुरु भएको र्यालीले फाँटका आकाशेधारा र फैका घुमेर पुन सोही मन्दिरमा आएर कार्यक्रम समापन भएको थियो । र्यालीमा महांकाल मन्दिर संरक्षण तथा निर्वाद उपभोग गर्न पाउनु पर्ने नारा लागेको थियो भने सार्वजनिक जग्गा कपन गुम्बाले हडपेकोमा आक्रोश पनि जनाइएको थियो ।

जुसुलमा कपन गुम्बाले कपन गढी, महांकाल मन्दिर र सार्वजनिक जग्गा आफ्नो परिसरभित्र पार्ने काममा अप्रत्यक्ष सहभागि भएका भनेर आरोपित पूर्व गाविस अध्यक्षहरु मिठाराम अधिकारी र आत्माराम पौडेल पनि सहभागि थिए । तर उनीहरुको उत्साहजनक सहभागिता भन्दा पनि जर्बजस्ती सहभागि भएको धेरैले अनुमान गरे । दुवै पूर्व गाविस अध्यक्षले कपन गुम्बाबाट भौतिक फाइदा लिएको आरोप लाग्ने गरेको छ । अधिकारी र पौडेलले र्यालीको नेतृत्व पनि गर्न सकेनन् भने समापन कसरी गर्ने भनेर वातावरण पनि बनाउन चाहेनन् ।

 


र्याली किन आयोजना गरियो र र्यालीको महत्व के थियो पनि कार्यक्रममा प्रकाश पारिएको थिएन । र्याली सकिने बेलामा टीका नगरकोटी, विनोद चालिसे, मिठाराम अधिकारी र आत्माराम पौडेल केही शब्द बोले पनि साउण्ड सिस्टममको समस्याको कारण कसैले उनीहरुको आवाज सुन्न सकेनन् मात्र हैन के बोलेको होला भनेर कसैले अनुमान सम्म लगाउन सकेनन् ।

 

र्यालीमा सहभागिहरुले पूर्व गाविस अध्यक्ष अधिकारी र पौडेललाई नै कपन गुम्बाभित्र महांकाल मन्दिर पर्नुमा दोषी रहेको बताइरहेका थिए । यो किसिमको तदारुकता गुम्बामा तारजाली र पर्खाल लाउँदा किन नगरेको भन्दै अधिकारी र पौडेललाई गाली गर्दै गरेका मानिसहरु भेटिए ।
र्यालीमा नेपाली कांग्रेस, एमाले, माओवादीसहित थुप्रै पार्टीहरुको सभागिता थियो तर व्यवस्थित सहभागिता भने थिएन । माओवादी केन्द्रले भने केही धेरै मानिस सहभागि गराएको थियो । महिलादेखि युवाहरुमा माओवादी केन्द्रको सहभागिता ठूलो देखियो । कार्यक्रममा माओवादी केन्द्रका नगर संयोजक रविन अधिकारी उपस्थित भए पनि उनी सक्रिय सहभागि मात्र भए माइकमा बोलेनन् ।


कपन अनलाइनसँग कुरा गर्दै रविन अधिकारीले गुम्बाभित्र रहेको महांकाल मन्दिरका लागि बाटो निकाल्न यो माहौल सिर्जना गर्न खोजिएको बताए । अधिकारीले स्थानीयहरुको यो सहभागिताले गुम्बाले सो सार्वजनिक क्षेत्र आफ्नो कम्पाउन्डभित्र पार्न भूमिका खेल्ने पूर्व गाविस पदाधिकारीहरुलाई पनि नंग्याउने बताए । अधिकारले यो जुलुस र सहभागिताले गूम्बालाई झस्काउने बताउँदै धार्मिक सहिष्णुता नबिग्रियोस् भनेर जुलुसलाई गुम्बा एरिया जान रोकिएको बताए ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति विनोद चालिसेले यो जुलुसले स्थानीयबासीमा महांकाल मन्दिरको महत्वका बारेमा प्रकाश पारेको बताउँदै स्थानीय जागे भने ठूलै कुरा हुने सन्देश गूम्बालाई गएको बताए । चालिसेले स्थानीयहरुले कुल पूजा गर्ने स्थानलाई यसरी प्रवेश गर्न गारो पार्दा धार्मिक वातावरण कमजोर मात्र हैन एक धर्म र अर्काे धर्मबीच भाइचारामा समेत कमी आउने बताए । बुद्ध र हिन्दू धर्म एकअर्काको परिपूरक रहेकोले धार्मिक भावनामा पनि असर नपार्ने हिसाबले अभियानलाई अगाडि बढाइएको उनको भनाई थियो । चालिसेले मन्दिर जाने बाटो निकाल्ने प्रयासस्वरुप यो जुलुस सुरुवाती काम भएको र यसलाई अझै व्यवस्थित बनाउने बताए ।

 
एमाले क्षेत्रीय सचिव ध्रुवराज न्यौपानेले स्थानीयहरुमा आफ्नो सम्पदा र सभ्यताप्रतिको चासो र जागरुकताको उदाहरणका रुपमा यो जुलुसलाई लिन पर्ने बताए । न्यौपानेले यो धार्मिक वा गुम्बासँगको कुनै लडाई नभएर गूम्बाभित्र रहेको महांकाल मन्दिर जानका लागि बाटो खोजिएको मात्र हो भन्ने बताए । स्थानीय महिलाहरु यसरी घण्ट बजाएर जुलुसमा निस्किएकोमा यो विषयले अब पार पाउन सजिलो हुने न्यौपानेको बिचार थियो । उनले धार्मिकरुपमा कसैले कसैलाई होच्याउने काम नगरी यो समस्या समाधानका लागि स्थानीयहरुको जागरणले सहज बनाएको बताए ।
जुलुस हेर्न आएका कपन गुम्बाका एक लामा बिधार्थी नोर्बु शेर्पा यो कानुनी राज्य भएकाले यस्तो विषयलाई क्षणिक राजनीति गरेर स्थानीयबासी उचाल्ने काम नगर्न अनुरोध गरे । शेर्पाले कपन अनलाइनसँग कुरा गर्दै कानुन सम्मत नभए राज्यले दण्ड दिन्छ तर यहाँ चुनावी राजनीति गर्ने हिसाबले साम्प्रदायिक दंगा निम्त्याउन खोजिएको बताए । गुम्बाले समस्याको समाधान कानुनी हिसाबले खोज्न अनुरोध गरेको कुरा सार्वजनिक भैसकेको छ ।

 

पूजाको थाली लिएर गएकालाई गूम्बाले कहिल्यै रोकेको छैन

यसैबीच कपन गुम्बाले बिहान पूजाको थाली बोकेका कुनै पनि मानिसलाई गुम्बाले नरोकेको प्रस्ट्याएको छ । कपन अनलाइनसँग कुरा गर्दै गुम्बाका प्रतिनिधि नोर्बु शेर्पाले आजका दिनसम्म कुनै धार्मिक कृयाकलापलाई नरोकिएको बताए । गुम्बा परिसरभित्र भएका कारण ठूलो समूहमा आउनेहरुलाई प्रवेश गर्दा सोधखोज गरे पनि पूजा गर्न प्रतिबन्ध नगरेको उनको भनाई थियो । स्थानीय सामाजिक कार्यकर्ता राधेश्याम कार्की पनि पूजाका थाली लिएर गएका मानिसहरु पूजा गर्न नपाएका कुनै घटना नदेखेको बताए । घुम्न जानेहरुलाई रोक लगाउने क्रममा केही वर्षअघि रोक लगाएकोले कपन गुम्बाभित्र जान नपाए पनि पूजा गर्न जान नै नरोकिएको कार्कीको भनाई थियो ।

 

कानुनी आधारमा मात्र समस्या सामाधान सम्भावना

कपन अनलाइनसँग कुरा गर्दै गूम्बाका प्रतिनिधि नोर्बु शेर्पाले कानुनी राज्य भएका कारण समस्या भए समाधान पनि कानुनी दृष्टिले गर्नु पर्ने बताएका छन् । यो मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन रहेको छ । उनको यो भनाईसँग कपन तथा काठमाडौं क्षेत्र नं. ४ का नेताहरुको मत पनि मिलेको देखिन्छ । नेकाका विनोद चालिसे सार्वजनिक जग्गाको विषय कानुनी बाटो बाटै हल हुने बताए । एमालेको ध्रुवराज न्यौपाने पनि मन्दिर जाने बाटोका लागि जनदवाब बढेको हो सार्वजनिक जग्गा भने कानुनी ढंगले नै निर्णय हुने बताए । माओवादी केन्द्रका रविन अधिकारीले यो जुलुस सांकेतिक भए पनि अभियानको रुपमा लाने र व्यवहारिकरुपमा बाटो खोल्ने बतावारण बनाउनतिर जाने बताए ।

तपाइँको प्रतिक्रिया ।