दुर्घटनामा एकको मृत्यु, २४ जना घाइते

कपन अनलाइन 

दमौली, २० माघ । तनहुँको व्यास नगरपालिका–८ सिर्दी नजिकै आज एक यात्रुबाहक बस सडकमै पल्टिँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

घाइतेमध्ये छ जना गम्भीर छन् । दुर्घटनामा परी मृत्यु हुनेमा व्यास नगरपालिका–९ अधेरी भञ्ज्याङका ३४ वर्षीय हर्कसुर कामी रहेको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कामीको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको र दुर्घटनामा परी गम्भीर घाइते हुने जामुने–१ बस्ने ३० वर्षीया चिजामाया थापालाई काठमाडौँको ग्रान्डी अस्पतालमा र जामुनेकै मनिषा थापा, लालमाया राना,सुकमाया श्रेष्ठ, मनपाङ–१की अस्मिता श्रेष्ठ र जामुनकै सविता थापालाई पोखरास्थित क्षेत्रीय अस्पताल पठाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

पोखराबाट दमौली आउँदै गरेको ग१ख ३२८८ नंको बस अनियन्त्रित भई पल्टेको थियो । अन्य सामान्य घाइतेको दमौलीको रत्नहरि, व्यास सिटी, नेसनल एपोलो र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक मनपाङ–१ बस्ने भीमसेन नारायण श्रेष्ठसमेत सामान्य घाइते रहेको र उपचारपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।