अब सरकारले अनलाइनबाट बैदेशिक रोजगार कन्सुलर सेवा दिने

कपन अनलाइन, काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेका नागरिकले कन्सुलर विभागबाट लिनुपर्ने विविध कानुनी सेवा अब अनलाइनमार्फत नै लिन सकिने भएको छ ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले अबदेखि विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अब अनलाइनबाटै आवेदन गर्न सकिने भएको हो ।

यी सेवाका लागि त्यस्ता व्यक्ति र उनीहरुका आफन्त स्वयम् विभागमा आई आवेदन गर्नुका साथै सो कार्य प्रगतिको सोधपुछका लागि समेत आफैँ उपस्थित हुनुपर्नेमा अबदेखि अनलाइनबाटै आवेदन गरी आफ्नो आवेदन कहाँ पुग्यो र के हँुदैछ भन्नेबारेमा घरैमा बसी जानकारी लिन सकिने छ ।

अनलाइनबाट यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ । सोसम्बन्धी अनलाइन सेवाको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आज कन्सुलर विभागमा शुभारम्भ गरे । यस सेवाअन्तर्गत कामदारले आफ्ना कम्पनी या अन्य विषयमा गर्ने गुनासो र समस्याको पनि सुुनुवाइ हुने व्यवस्था गरिएको छ ।

सो अनलाइन सेवाको शुभारम्भ गर्दै मन्त्री डा महतले कन्सुलर सेवा विभागमार्फत जनतालाई प्रदान गरिने सेवालाई छिटो, सर्वसुलभ, कम खर्चिलो र पारदर्शी बनाउने प्रयोजनमा यस अनलाइन सेवा प्रभावकारी हुने अपेक्षा गर्दै यसबाट बढीभन्दा बढी लाभ लिन नेपाली नागरिकलाई आग्रह पनि गरे ।

तपाइँको प्रतिक्रिया ।