ट्र्याक्टरले थिच्दा मृत्यु

कपन अनलाइन 

सिन्धुली, १३ माघ । अरुणठाकुर गाविस–२ स्थित मानवा थापा टोलमा ट्र्याक्टरले थिच्दा आज बिहान १० वर्षीया विनिता तामाङको घटनास्थलमा नै मृत्यु भएको छ ।

अरुणठाकुरको भित्री कच्ची बाटामा गुडिरहेको स १ त ५५२२ नं को ट्र्याक्टरले विद्यालय जाँदै गरेकी सोही ठाउँकी तामाङलाई थिचेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराका अनुसार उनी घरबाट स्कुल पढ्न गइरहेका अवस्थामा ट्र्याक्टरको अगाडिको दाहिने चक्काले थिचेको हो ।

प्रहरी चौकी दुधौली सिन्धुलीले घटनास्थलमा शव जाँच मुचुल्का गरी शव परीक्षणका लागि कटारी अस्पताल उदयपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले खोजी जारी छ । ट्र्याक्टर भने प्रहरी चौकी दुधौलीको नियन्त्रणमा छ ।
यसैबीच सिन्धुली, कमलामाई नगरपालिका–६ सिन्धुली हस्पिटल रोडमा सिन्धुलीका सहायक प्रजिअ सवार बोलेरोलाई बसले ठक्कर दिएको छ ।

सहायक प्रजिअ सवार बा १ झ ७८२६ नं को बोलेरो गाडीलाई विपरीत दिशाबाट आएको ना ४ ख ९३३ नं को बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट मानवीय क्षति नभए पनि बोलेरो गाडीमा क्षति पुगेको प्रहरीको भनाइ छ । प्रहरीले बस चालक सिन्धुली कमलामाई नगरपालिका–१० भिमानका ५३ वर्षीय अर्जुन बराललाई नियन्त्रणमा लिएको छ । रासस

तपाइँको प्रतिक्रिया ।