अनुदान सम्झौताको वर्ष दिनमा पनि अझै घटेन मालपोतको भिड

कपन अनलाइन 

दोलखा, ८ माघ । भूकम्पपछि अनुदान प्राप्तिका लागि जग्गाधनी पुर्जा अनिवार्य भएपछि जिल्ला मालपोत कार्यालय दोलखामा देखिएको चाँप अझै उस्तै छ । अनुदान सम्झौताका लागि जग्गा धनीपुर्जा अनिवार्य भएकाले जग्गाको कित्ताकाट गरी पुर्जा लिनेको सङ्ख्या अझै पनि उस्तै रहेको जिल्ला मालपोत कार्यालय दोलखाले बताएको छ ।

अलग भएर बसेका तर जग्गा धनीपुर्जा बनाउन बाँकी रहेका भूकम्पपीडित राज्यको सुविधा लिनकै लागि भए पनि मालपोत कार्यालय दिनहुँजसो पुग्ने गरेका थिए । अनुदान सम्झौताको काम सुरु गरेको वर्ष दिन पुग्न लाग्दा पनि विगतको तुलनामा जग्गा धनीपुर्जाको लागि मालपोत कार्यालय धाउनेको सङ्ख्यामा खासै कमी नआएको जिल्ला मालपोत कार्यालय दोलखाका प्रमुख दीपेन्द्र काफ्लेले बताउनु भयो ।

सुरुमा प्राधिकरणले जग्गा धनीपुर्जा अनिवार्य भने पनिपछि मञ्जुरीनामाको आधारमा पहिलो किस्ताको लागि सम्झौता गरेपछि मालपोत कार्यालय धाउनेकोे सङ्ख्यामा कमी आएको देखिन्छ । तर अव दोलखामा दोस्रो किस्ता वितरणका लागि सिफारिस हुन थालेको छ भने केहीले दोस्रो किस्ता पनि लिएका छन् । दोस्रो किस्ताको लागि पहिले जस्तो मञ्जुरीनामाको आधारमा सिफारिस हुने छैन । जसको प्रभाव पुनःमालपोत कार्यालयमा देखिने सम्भावना बढी छ । रासस

तपाइँको प्रतिक्रिया ।