थारु बस्तीमा भलमन्सा चयन गर्ने चटारो
कपन अनलाइन
धनगढी: धनगढी उपमहानगरपालिका–५, जाइँगाउँका कुलवीर चौधरी आठौंं पटक जाइँ गाउँको भलमन्सामा निर्वाचित हुनुभयो । अरुलाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा रहेका चौधरीलाई गाउँलेले पुनः सोही पदमा रहन आग्रह गरेपछि उहाँ भलमन्सामा निर्वाचित हुनुभएको हो । आइतबार जाइँमा भएको थारुहरुको भेलाले उहाँलाई सर्वसम्मत रुपमा भलमन्सामा चयन गरेको हो ।
थारु समुदायमा परम्परागत रुपमा गाउँको रेखदेखको नेतृत्व गर्ने एकजना बडघर (भलमन्सा) को खाँचो पर्छ । यो परम्परागत चलन नै हो थारु समुदायको । माघेसङ्क्रान्तिको भोलिपल्ट सुरु हुने ‘माघी डेवानी’ मा थारु गाउँको नेतृत्वकर्ताका रुपमा बडघर चयन गर्ने गर्छन् ।
थारु समुदायमा हाल चलिरहेको माघी पर्वको रौनकताकाबीच यति बेला बडघरलगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने चटारो बढेको छ । माघीका बेला गाउँको भलमन्साको घरमा भेला भएर वर्षभरिमा गाउँमा सार्वजनिक वा व्यक्तिगत काम गर्दा भएका कमीकमजोरी सच्याउने प्रतिवद्धता सम्बन्धित पक्षले गर्ने गरेको पाइन्छ ।
बडघरजस्तै अन्य नेतृत्वकर्तामा गाउँको हुलाकीको काम गर्ने चिरकिया (चौकीदार), घरमुली (गरढुरिया) को समेत छनोट गर्छन् । थारु गाउँमा सदियौंंदेखि यस्तो प्रचलन रहेकाले नेतृत्वकर्ताको समाजमा बेग्लै महत्व र पदीय स्थान रहने थारु अगुवाको भनाइ छ । समग्र गाउँको संरक्षण गर्ने, विकास निर्माणका काम गर्ने, कुलोपानी, बिजुलीबत्तीको व्यवस्था गर्ने, गाउँघरमा आइपर्ने दुःखसुखमा सामूहिक सहयोग गर्ने गराउने यावत् काम गाउँको नेतृत्वकर्ताले गर्ने गरेको जाइँ गाउँका भलमन्सा कुलवीर चौधरीले बताउनुभयो ।
भलमन्सा चौधरीको भनाइमा उहाँको तीन पुस्ताले लगातार भलमन्साको जिम्मेवारी सम्हाल्दै आएका छन् । यसअघि उहाँको बाजे २०१६ सालदेखि गाउँको बडघरको जिम्मेवारीमा आउनुभयो । करिब १० वर्ष बाजेले जिम्मेवारी निभाएको चौधरीले सुनाउनुभयो । त्यसपछि चौधरीको बुबाले पनि करिब एक दशक भलमन्साको जिम्मेवारी निर्वाह गर्नुभयो ।
त्यस्तै, साविक श्रीपुर गाविस– ९ जोनापुरकी २८ वर्षीया सीता थारुले गतसाल भलमन्साको जिम्मेवारी पाउनुभयो । पहिलो पटक गाउँमा महिला भलमन्सा बनेर काम गर्ने अवसर पाउँदा नेतृत्व विकास भएको उहाँको बुझाइ छ । यसवर्ष माघ ४ गते भलमन्सा चयन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । वर्ष दिनमा गाउँमा सिँचाइका लागि कुलोपानी, सडकबत्ती निर्माण, गाउँको विद्यालयमा सङ्घ संस्थासँगको समन्वयमा विद्यालय भवन निर्माणको कामले यसवर्ष पुनः गाउँलेले भलमन्साको जिम्मेवारी दिने तयारीमा रहेको चौधरीले बताउनुभयो ।
कैलाली विसनपुर गाउँका भलमन्सा मानबहादुर चौधरी पनि तीन वर्षदेखि गाउँको नेतृत्व गर्दै आउनुभएको छ । यसपटक बडघरको निर्वाचन भइनसके पनि जिम्मेवारीमा पुनः आउने देखिएकाले उहाँ त्यसका लागि तयार हुनुहुन्छ । नेतृत्व हस्तान्तरण गर्ने आफूले सोचे पनि गाउँवासीले आग्रह गरेमा आफू जिम्मेवारीबाटपछि नहट्ने उहाँले बताउनुभयो ।
निर्वाचनको तिथिमिति तय नभए पनि माघ १० गतेभित्र बडघरको निर्वाचन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । धनगढी–५, हसनपुर गाउँका थारु प्रतिनिधिले आइतबार भेला भएर पनि भलमन्सा छनोट गर्न सकेनन् । पुराना भलमन्सा वेदनप्रसाद चौधरीले नेतृत्व हस्तान्तरण गर्न खोज्दा गाउँका अन्य सदस्य तयार भएनन् र भलमन्सा छनोट हुन सकेन । गाउँका सदस्य सैतुप्रसाद चौधरीकाअनुसार गाउँका सबै सदस्यले पुनः जिम्मेवारी लिइदिन भलमन्सा चौधरीलाई आग्रह गरिसकेका छन् ।
सम्भवतः सोमबार बस्ने कचहरीमा नयाँ नेतृत्व छनोट गर्ने उहाँले जानकारी दिनुभयो । थारु समुदायले माघी पर्वमा गाउँ सञ्चालन गर्न नयाँ नीति नियम बनाउने, नेतृत्व छनोट गर्ने, वर्षभरिको कामको समीक्षा गर्ने र नयाँ योजनाअनुसार अगाडि बढ्ने काम गर्छन् । वर्षभरिको हिसाबकिताब गर्ने, चुक्ता गर्ने र नयाँ खाता सञ्चालन गर्ने काम हुने हुँदा थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउने प्रचलन रहेको अगुवाहरु बताउँछन् ।
थारु समुदायमा बडघर प्रथाले ठूलो महत्व राख्ने गर्छ । सकेसम्म सर्वसम्मतिमा र त्यसो हुन नसके निर्वाचन वा गोलाप्रथाले पनि थारु समुदायमा बडघर छनोट गर्ने गरिन्छ । थारु अगुवा श्रीबहादुर चौधरीकाअनुसार अहिले पनि करिब ९० प्रतिशत गाउँमा सर्वसम्मत बडघर चयन हुन्छन् । बाँकी १० प्रतिशत गाउँमा लोकतान्त्रिक प्रक्रिया निर्वाचन वा गोलाप्रथाद्वारा चयन हुने गर्छन् ।
बडघरले लाए अ¥हाएका काम गाउँका अन्य सदस्यले मान्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले पनि गाउँको अनुशासन कायम हुने र सामूहिकतामा काम गर्ने सदियौंदेखिको प्रचलन थारु गाउँमा रहने गरेको छ । त्यसले गाउँको एकता र सामूहिकताको विकास हुने र अर्कोतिर गाउँको अनुशासन पनि कायम हुने बुझाइ थारु अगुवा दिलबहादुर चौधरीको छ । रासस
