सीपले सक्षम बन्दै किसान
कपन अनलाइन, बनेपा, १७ मङ्सिर ।
काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने डाँडापारीको च्याम्रेङबँेसी गाविस– २ का किसान प्रविधि र सीपका कारण सक्षम बन्दै गएका छन् ।
बनेपाबाट करिब ३७ किलोमिटरको दुरीमा रहेको सो ठाउँका किसानले नयाँ प्रविधिको प्रयोग गरी अर्गानिक खेतीको अभ्यास गरेका छन् । “अर्गानिक खेती गरी आयआर्जन गरिरहेका छौँ,” च्याम्रेङबँेसी– २ का मखमली थापाले भन्नुभयो । प्रविधिको विकासले जीवनस्तर उकास्न सहयोग पु¥याएको उहाँको भनाइ छ ।
गाईवस्तुको मलमूत्रबाट जैविक विषादीको उत्पादन गरी तरकारी खेतीमा प्रयोग गरिँदै आएको छ । “कुहिने वस्तु जैविक मलमा प्रयोग गरेका छौँ नकुहिने वस्तुको व्यवस्थापन गर्न थालेका छौँ,” उहाँले भन्नुभयो ।
च्याम्रेङबँेसी गाविस– २ कै दण्डप्रसाद दाहालले सीमित स्रोत र साधनको प्रयोग गरेर किसानले उपलब्धि हासिल गरेको बताउनुभयो । दाउरा खोज्न जङ्गल धाउनुपर्ने बाध्यताको अन्त्य भएको र गाउँगाउँमा धुवाँरहित चुलोको प्रयोग हुन थालेको दाहालको भनाइ छ ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डित अर्गानिक उत्पादनको प्रमाणीकरण गरेर छुट्टै बजारको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै ग्रामीण प्रविधि केन्द्रका निर्देशक डा पुरुषोत्तम श्रेष्ठले खेर गएको पानीमा मत्स्यपालन गर्ने सीप र प्रविधिको नयाँ सिकाइ किसानलाई दिएर आत्मनिर्भर बनाउन खोजिएको बताउनुभयो ।
ग्रामीण प्रविधि केन्द्रले जिल्लाको चलाल, गणेस्थान र ढुङ्खर्क गाविसमा नवीकरणीय ऊर्जा, अर्गानिकखेती लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । रासस