क्यान्सरपीडित बालकलाई सहयोग

क्यान्सरपीडित बालकलाई सहयोग

कपन अनलाइन, उर्लाबारी (मोरङ), १५ मङ्सिर ।

अर्बुदरोग (क्यान्सर) पीडित उत्सव धिमालको उपचारका लागि विदेशमा रहेका नेपालीले रु दुई लाख ८८ हजार सहयोग गरेका छन् ।

मोरङ पथरी शनिश्चरे–८ जिरी खिम्तीका १२ वर्षीय धिमालको आर्थिक कठिनाइका कारण उपचारमा समस्या भएको राससमा प्रकाशित समाचार अन्य सञ्चार माध्यमले प्राथमिकताका साथ प्रकाशन गरेपछि विदेशमा रहेका नेपालीले उनको उपचारका लागि सो रकम सहयोग गरेका छन् ।

पछिल्लो पटक कुवेतमा रहेका १५ जना नेपालीले रु ८९ हजार ७५० सङ्कलन गरेर पठाएका छन् । जिरी खिम्ती घर भएका विमल राईको अगुवाइमा सङ्कलित सो रकम राई घर आएको समयमा राइकै हातबाट उत्सव धिमाल बचाउ अभियान समितिका संयोजक साजन धिमाल र उत्सवका बुबा छत्रबहादुर धिमाललाई हस्तान्तरण गरिएको छ ।

यसअघि इजरायलमा रहेका पथरी शनिश्चरे– ८ का मधु काङवाको नेतृत्वमा सहयोग सङ्कलन गरी रु एक लाख १० हजार हस्तान्तरण गरिएको थियो । कतारमा रहेका डिल्लीबहादुर रानामगरले रु पाँच हजार ३१५, अमेरिकामा रहेका जिरी खिम्तीका प्रदीप कटुवालले रु तीन हजार ७७० सहयोग पठाउनुभएको छ ।

ब्रेन ट्युमरबाट क्यान्सर भएका बालकको भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । रासस

तपाइँको प्रतिक्रिया ।