रमाईलो झोडाका बालबालीकाहरुले गरे समाजसेवा

रमाईलो झोडाका बालबालीकाहरुले गरे समाजसेवा

कपन अनलाइन, पथरी (मोरङ), १५ मङ्सिर ।

बालबालिकालाई रकम दियो भने के गर्लान् ? भनेर तपाईलाई कसैले सोध्यो भने सायद तपाई सहजै भन्नुहुन्छ खाजा खाएर सक्छन् या कापिकलम किन्छन् ।

तर मोरङको वयरवनमा अवस्थित रमाइलो झोडामा स्थापित उज्वल भविष्य बालसमूहमा आवद्ध २५ जना बालबालिकाको सवालमा भने त्यो जवाफ गलत हुन्छ । किनभने पढाईका अलावा गएको तिहारमा खेलेको देउसीभैलोमा अविभावकले दिएको रकम सञ्चीत गरेर उनीहरु समाज सेवा गर्दै आएका छन् ।

गएको तिहारमा देउसी खेलेको रकम सञ्चीत गरेर रमाइलो झोडाका बालबालिका समाजका विकास निर्माण र समाज सेवाका गतिविधिमा लगानी गर्दै आएका छन् । पल्लो गाउँ (मिलनचौक)का बालबालिका देउसी खेलेर उठाएको रकमले पिकनिक गए । माथिल्लो गाउँ दोहलुका बालकालिकाले बराबर बाँडे ।

तर उनीहरुले देउसीभैलो खेलेर उठाएको रकमले समाज सेवा गर्दै आएका छन् । उज्वल भविष्य बालसमूहकी अध्यक्ष विद्या दुलालका अनुसार वर्षको तिहारमा देउसीभैलो खेलेर रु तीन लाख ५० हजार सङ्कलन भएको थियो । सङ्कलित रकम उनीहरुले गाउँको मन्दिरमा कार्पेट र त्रिपाल किन्न त्यही रकमबाट खर्च गरे । उनीहरुले असहायहरुलाई समेत औषधि उपचारमा खर्च गरेका छन् ।

अध्यक्ष दुलालका अनुसार मन्दिर निर्माण, खेलकुद सामग्री खरिद, असहाय महिलाहरुलाई नगद सहयोग, खानेपानी आयोजना निर्माणमा सहयोग, विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्ने जस्ता कार्यक्रम गरेका छन् ।

सो समूहसँग अहिले रु एक लाख ६० हजार बाँकी छ । उनीहरुले त्यो रकमसमेत समाजको सेवामा लगाउने योजना रहेको अध्यक्ष दुलालको भनाई छ । दुलालले भन्नुभयो, ‘अझै विपन्न र पढ्न नपाएका बालबालिकालाई आर्थिक सहयोग गर्ने विचार छ ।’

सो बाल समूहमा आवद्ध बालकालिका ९ वर्ष देखि १४ वर्ष उमेर समूहका छन् । उनीहरु आफ्नो पढाईका अलावा आफ्नै गाउँको विकास र सेवामा जुटेका हुन् ।

उनीहरुले दुई महिना अघि गायक स्वरुपराज आचार्य, सुमित खड्का, सिन्धु मल्ललाई बोलाएर गाउँमा सांस्कृतिक कार्यक्रमसमेत गरेका थिए । बालबालिकाको लगनशिलतालाई मध्यनजर गर्दै विराटनगरका उद्योगी एवम् समाजसेवी दिनबन्धु गोयलले सो बाल क्लबलाई समाजसेवामा लगाउने गरी रु ३१ हजार सहयोग पनि गर्नुभएको छ ।

सो क्लबले गाँउमा बेलाबेलामा विभिन्न अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको अध्यक्ष दुलालको भनाई छ । रासस

तपाइँको प्रतिक्रिया ।