गोरखापत्र पत्रकारिता पुरस्कार अधिकारीलाई

कपन अनलाइन, काठमाडौँ, १२ मङ्सिर ।

श्री ३ महाराज देवशम्शेर जबरा प्रतिष्ठानले ‘देवशम्शेर गोरखापत्र पत्रकारिता पुरस्कार’ पत्रकार प्रकृति अधिकारीलाई प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देवशम्शेर जबराको संस्मरणात्मक हुलाक टिकटमा टाँचा लगाउँदै सो पुरस्कार प्रदान गर्नुभयो । पत्रकारिताका क्षेत्रमा विशेष योगदान पु¥याएबापत रु १५ हजार राशिको सो पुरस्कार ‘गोरखापत्र’का अधिकारीलाई प्रदान गरिएको हो ।

त्यसैगरी प्रतिष्ठानले दिँदै आएको रु १० हजार राशिको ‘वरिष्ठ पत्रकारिता पुरस्कार’ ‘अन्नपूर्ण पोस्ट’ दैनिकका विकास थापालाई प्रदान गरिएको छ ।

प्रतिष्ठानले हुलाक सेवा विभागका महानिर्देशक सुरेश अधिकारी, निर्देशकद्वय बद्रीनाथ गैरे र राजन पौडेल, कर्मचारी वेदप्रसाद भण्डारी, शिरीष उपाध्याय, दीपेन्द्र बुढाथोकी, पूर्णकला लिम्बू, फिलाटेलिक ब्युरोका कार्यालय प्रमुख सुधा रेग्मी र केन्द्रीय टिकट भण्डारका व्यवस्थापक नारायणप्रसाद पौड्याल लगायतलाई सम्मान गरेको छ ।

सो अवसरमा सरकारका प्रवक्ता कार्कीले मुलुकका लागि योगदान दिने पूर्वजलाई राज्यले सम्मान गर्न सक्नुपर्छ भन्नुभयो । मन्त्री कार्कीले भूकम्पबाट क्षति पुगेको ‘गोरखापत्र’ दैनिकको कार्यालय भवन निर्माणका लागि सरकारले तयारी गरिरहेको समेत जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष मञ्जुश्री राणाले देवशम्शेरले एक सय १५ वर्ष अगाडि नेपालको पहिलो पत्रिका ‘गोरखापत्र’ को प्रकाशन गरी नेपालमा पत्रकारिताको शुभारम्भ गरेको स्मरण गर्नु्भयो । कोषाध्यक्ष हिमालयशम्शेर जबराले ‘गोरखापत्र’मा ‘आफ्नो तारिफ नछाप्नु’ भन्ने सनद जारी गरी पत्रकारिता निष्पक्ष, पारदर्शी र जनमुखी बनाउन देवशम्शेरले योगदान गरेको बताउनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।