आम्दानीको स्रोत बन्यो होटल व्यवसाय
कपन अनलाइन, रामपुर (पाल्पा), २६ कात्तिक ।
साँझ बिहान हातमुख जोर्न तथा एकसरो कपडा लगाउन निकै कष्ट भोग्नुभएकी गीता राना यतिबेला होटल व्यवसायबाट मनग्य आम्दानी गर्नुहुन्छ ।
एकातिर विवाह भएको पाँच वर्षमा श्रीमान्को मृत्युको पीडा भने अर्कोतर्फ आयस्रोतको कुनै उपाय नभएपछि बुटवल–तानसेन सडकखण्डअन्तर्गत जोरधारा नजिक होटल थापी बटुक बनाएर बिक्री गर्न थाल्नुभयो । उहाँले अहिले खर्च कटाएर मासिक रु ६० हजार बचत गर्नुहुन्छ ।
सडक किनारमै होटल व्यवसाय गर्दैआउनुभएका मस्यामका ज्ञानबहादुर चिदी वार्षिक रु पाच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच जनालाई रोजगारी समेत दिनुभएको छ । यस्तै कोलडाँडा सत्यवतीका वीरबहादुर चिदीले पनि होटल व्यवसायबाट वार्षिक रु तीन लाख बढी बचत गर्दैआउनुभएको छ । सडक किनारामा अस्थायी तथा स्थायी रुपमा होटल सञ्चालन गर्दैआएका सर्वसाधारणले मनग्य आम्दानी गर्दैआउनुभएको छ ।
ठेको बनाएर जीविका चलाउँदै
चापाकोटका ५२ वर्षीय लीलबहादुर चुनारालाई अहिले ठेको बनाउन भ्याइनभ्याई छ । विगत २५ वर्षदेखि ठेको बनाएर उहाँले जीविका चलाउँदै आउनुभएको छ ।
ठेको बनाएर उहाँले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दैआउनुभएको छ । गाउँघरमा परम्परागत रुपमा प्रयोग हुने दुग्धजन्य पदार्थ राख्न प्रयोग हुने ठेको, ठेकी, माने, आरी, गौवालगायत सामग्री उहाँले निर्माण गर्दैआउनुभएको छ ।
“बाउबाजेले गरेको पेसालाई निरन्तरता दिँदै आएको छु”, उहाँले भन्नुभयो । चुनाराले चलाउनुभएको व्यवसायमा छजनालाई रोजगारी मिलेको छ । ठेको रु दुई हजारदेखि रु आठ हजारसम्म बिक्री हुने गरेको छ । एक वर्षमा ३०० भन्दा बढी ठेको बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ ।
ठेको समूहमा मिलेर निर्माण गर्ने गरिन्छ । रत्नपुर, दामाचौर, गेझा, हुँगीलगायतका स्थानमा कटहरको बोट खरिद गरी वर्षौंदेखि यही व्यवसायलाई निरन्तरता दिँदैआएको चुनारा बताउनुहुन्छ । “एउटा कटहरको रुखबाट रु चार लाख ५० हजारसम्म आम्दानी हुन्छ,” उहाँले भन्नुभयो । निर्माण गरिएका सामग्री पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका विभिन्न स्थानमा बिक्री गरिँदै आएको बताइन्छ । रासस