ट्राफिक प्रहरीलाई रिफ्लेक्टिभ भेष्ट
कपन अनलाइन, काठमाडौँ, २५ कात्तिक ।
अब ट्राफिक प्रहरीलाई अँध्यारोमा पनि टाढैबाट देख्न सकिने भएको छ । पतञ्जली योगपीठ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक व्यवस्थापन गर्दा प्रयोग गर्ने एक हजार एक सय थान रिफ्लेक्टिभ भेष्ट (चम्किलो वेष्टकोट) सहयोग गरेको छ ।
आज महाशाखाको कार्यालय रामशाहपथमा आयोजना गरिएको कार्यक्रममा पतञ्जली योगपीठ नेपालका शालिकराम सिंह र योगपीठका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई संयुक्त रुपमा सो भेष्ट हस्तान्तरण गर्नुभयो ।
ट्राफिक प्रहरीले यो भेष्ट प्रयोग गर्दा ट्राफिक प्रहरी प्रष्ट रुपमा चिनिने र देखिने भएकाले कानुन कार्यान्वयन गराउन सहयोग पुग्ने महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक अर्यालले बताउनुभयो ।
योगपीठका सिंहले यस्तो भेष्ट फिल्डमा काम गर्ने ट्राफिक प्रहरीका लागि विशेष उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामग्री सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।योगपीठका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरीक्षक महतले ट्राफिक प्रहरीले यस्तो खाले विशेष पोसाक लगाएर काम गर्दा जोखिम न्यूनीकरण गर्नमा विशेष मद्दत पुग्ने बताउनुभयो । रासस