भारतमा पनि इनोसेन्स अफ मुस्लिम्स फिल्मको विरुद्धमा प्रदर्शन

३० भदौ, एजेन्सी । इस्लामबिरुद्ध बनेको चलचित्रले सल्काएको धार्मिक आगो अफ्रिका महाद्धिपबाट मध्यपूर्व हुँदै भारतीय उपमहाद्धिपसम्म आइपुगेको छ ।

गएराति मुस्लिम प्रदर्शनकारीहरुले भारतको चन्नईस्थित अमेरिकी बाणिज्य दुतावासमा ढुङ्गामुडा र चप्पल प्रहार गर्दै नाराबाजी गरेका छन् । हमलाका कारण बाणिज्य दुतावासको सोधपुछ कक्ष क्षतिग्रस्त भएको छ । प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । झडपमा २५ जनालाई सामान्य चोट लागेको छ ।

यता, पश्चिमा देशहरुले भने सिनेमाको नाममा भैरहेको हिंसात्मक प्रदर्शन तत्काल बन्द गर्न आह्वान गरेका छन् । युरोपेली युनियन र अमेरिकाले मुस्लिम देशका नेताहरुलाई तत्काल शान्ति र अमनचयनतर्फ फर्कन अपिल गरेका हुन् ।यसैबीच चलचित्रको बिरोधमा गएराति भएको प्रदर्शनमा थप सात जना मारिएको खबर छ । सुडानको राजधानी खार्तोमस्थित अमेरिकी दुतावासमा भएको आक्रमणमा तीन जना मारिएका छन् ।

प्रदर्शनकारीले अमेरिकी, ब्रिटिस र जर्मन दुतावासलाई निशाना बनाएका छन् । ट्युनिसियामा पनि अमेरिकी दुतावासको कम्पाउण्ड भत्काउन खोज्दा दुई जना मारिए । उता, इजिप्ट र लेबननमा पनि एक-एक जना मारिएको खबर । इनोसेन्स अफ मुस्लिम्स नामक चलिचत्रले इस्लामलार्य गाली दिएको भन्दै मुस्लिम समुदायले गत मंगलबारबाट विश्वभर प्रदर्शन गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।