सिंहदरबारसँग जोडिएको एउटा राउटे बस्ती !!!

सिंहदरबारसँग जोडिएको एउटा राउटे बस्ती !!!

कपन अनलाइन, २० साउन, २०७३

सिँहदरबार र कपनको दुरी मुस्किलले सात किलोमिटर पर्छ । सिँहदरबार यो देशमा शासन गर्ने शासकहरु बस्छन् । ती शासकका प्रतिनिधिहरू कपनमा पनि लटरम्म बस्छन । तर यताको सडक हेर्दा यो शहर माझमा रहेका एउटा राउटे गाउँ हो । यतिखेर कपनमा छिर्ने कुनै सडकमा पनि ओभानो र पीच भेटिदैन । लाग्छ सडक बिभाग, नगर पालिका र यहाँका जनपतिनिधिहरु यहाँ सडक बनाउन होइन भत्काउने काममा तल्लिन छन् । यसरी सडक बिग्रिएको लामो समय हुँदा पनि  उल्लेखित कुनै पनि निकाय कान बुजिएकासरह चुपचाप छन् । तिनिहरुका आँखा पनि टालिएका छन् ।

balkumar nepal

लाग्छ यो सडक निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उनीहरुको मुखमा धार्नीको जिब्रोले थुनिएको छ । त्यसैले यी बोल्दैनन् । यद्यपि नगरपालिका बनिसकेको यो राउटेसरहको गाउँसम्बन्ध राख्ने बुढानिलकण्ठ नगरपालिकाले यो ओभानो नदेखिने नगरपालिकामा बर्खा महिनामा सडक मर्मत गर्नमा ३० लाख खर्च गर्यो रे भन्ने समाचारसम्म पढ्न पाउँदा हाँसो उठ्यो, उदेक लाग्यो,  रिस उठ्यो । मिल्ने भए ३० लाख खर्च गरेँ भन्ने निकायका व्यक्तिहरुलाई यो हिलोमा ल्याएर एकपटक मुख धोइदिन्थे जस्तो पनि लाग्यो ।

यस क्षेत्रमा रहेका राजनीतिक पार्टीहरुको काम पनि हातमा पार्टीको सदस्यता बोकेर कुदने मात्र हो भन्दा पटक्कै फरक पर्दैन । प्रश्नहरू समेत उठाउन पर्ने भैसकेको छ । यति नराम्रो गरी सडकको बेहाल हुँदा पनि यिनीहरु किन चुँ सम्म बोल्दैनन् होला, निर्वाचनमा घरघर आउँन पर्दैन कि यिनीहरूलाई ! यस क्षेत्रमा बस्ने प्रतिष्ठित मानिसहरुसमेत हिलो सडकमा रोपाई गर्नका लागि नै यो धर्तीमा आएका हुन्न भन्दा अनुपयुक्त हुँदैन । एकताका बर्खे भेलजस्तो पिचैपिच भएको यो राउटे गाउँमाअहिले औषधीका लागि पनि पिच नपाइने भएको छ  । फेरि यो राउटेबस्तीमा पिचहरु बने पनि मुस्किलले १ वर्ष मात्र टिक्छ । कतिपय पिच त २ महिनामा पनि टिक्दैनन् ।

यो बर्खामा हाम्रो राउटे गाउँको सडक हेर्दा लाग्छ हामी अहिले सुँगुरे संसारमा छौँ,  जसलाई हिलो र फोहोर नभई हुँदैन । यताहुँदी मेलाम्ची नामको आयोजनाले पनि सताएको छ । त्यसको पनि काम सडक भत्काउने जस्तोमात्र भएको छ । भत्काँछ, हिँड्नै नमिल्ने बनाएर छाड्छ । मेलाम्चीको ठेकेदार कम्पनीले दिनभरी सडकमा डोजर तस्र्याएर बाटो थुन्ने कामको जिम्मा पाएर जस्तो देखिन्छ । नेपाल बन्द गर्ने काममा लागे जस्तो अहिले मेलाम्ची ठेक्का लिने कम्पनीका कामले  कपन बन्द  छ ।

सिंहदरबारका शासक बुढानिलकण्ठ घुम्न र हिलोका रमाइलो लिन आउँछन् । सडक बिभागको काम पनि बुढानिलकण्ठ नगरपालिका आसपासका भत्केको सडक हेर्नुसरहमात्र छ । जनप्रतिनिधिहरुको काम यहि भत्केको सडक हेर्नु नै प्रमुख कर्तव्य भएको छ कपन, महांकाल, चुनिखेल, खड्का भद्रकाली र नारायण थान क्षेत्रका सडकका बेहाल र सम्बन्धित निकायको मौनता हेर्दा लाग्छ, सहर नजिकै एउटा राउटे गाउँछ । यहाँ राउटेहरु बस्छन् । यो राउटे गाउँबाट चुनिएका तथा छानिएका मुखियाहरु बेलाबेला खसी र चामल थाप्न सिंहदरवारमा जान्छन् । यो खसी र चामल प्रजालाई ल्याउँछन् जस्तो लाग्दैन । यी मुखियाहरुले बाटैमा खडकुलो बसाएर पकाउँछन र खान्छन । त्यसैले यता कपनमा बसेका राउटेहरु मुखिया(नगरपालिका, जनप्रतिनिधि, स्थानीय नेताहरु) तिर हेरर हिलो सडकमा समय काटछन्, यात्रा गर्छन् ।

तपाइँको प्रतिक्रिया ।