कपनमा गणेशमान सिँह कप राष्ट्रिय ह्यान्डबल प्रतियोगिता शुरु
कपन अनलाइन, काठमाडौँ, जेठ २०, २०७३
कपनमा ह्यान्डबल खेलको नयाँ प्रतियोगिता शुरु भएको छ । नेपाली राजनीतिका प्रतिष्ठित नेता गणेशमान सिंहको फोटो अंकित प्रतियोगिताको ब्यानरमा आज उनका सुपुत्र प्रकाशमान सिंहले सो प्रतियोगिताको उद्घाटन गरेका छन् । बुढानिलकण्ठ नगरपालिकामा खेलकुद क्षेत्रमा अग्रणी नाम सदाबहार खेलकुद समाजले आयोजना गरेको यस प्रतियोगिताको उद्घाटन खेलको सुरुमा बोल्दै राजनीतिकर्मी रविन अधिकारीले ह्यान्डबल खेल बुनपा १२ मा मात्र सिमित नहोस् भन्दा धेरै मानिसले त्यो कुरालाई गम्भीरताका साथ सोच्न बाध्य भए । नेपालमा ह्यान्डबल यसोसियसनको स्थापना भएको ३ दशक बितिसकेको अवस्थामा ह्यान्डबलको खेल कपनमा भएको समाचारबाहेक खासै सुनिदैन । यही कपनमा भएको खेल पनि सदाबहार खेलकुद समाजले नै गर्ने गरेको देख्दा नेपाली खेलकुदको अवस्था र यसोसियसनहरु कुन हालतमा छन् सजिलै अनुमान लगाउन सकिन्छ ।
त्यसो त कपनमा रहेको ह्यान्डबल मैदान अब कपनजस्तै परिचित स्थल हो । कपनमा यही मैदान देखाएर वा भजाएर आफ्नो राजनीतिलाई उँचो बनाउने पनि छन् । ह्यान्डबल यसोसियसनका वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष दुवैजना कपनकै हुन् । लामो समयदेखि ह्यान्डबल यसोसियसनमा बसेर पनि कपनको ह्यान्डबल मैदानलाई ह्यान्डबल यसोसियसनको नाममा ल्याउनसमेत नसकेको भनेर आलोचनाको पात्र बनेका छन् उनीहरु । ह्यान्डबल यसोसियसनले कुनै गतिबिधिसम्म गरेको पाइन्न ह्यान्डबल मैदानमा । आजसम्म जेजति ह्यान्डबलका कार्यक्रम भएका छन् ती सबै सदाबहार खेलकुद समाजले नै गरेको छ ।
यही क्रमउपक्रमको निरन्तरता दिने नयाँ संस्करणको स्वरुप कपनको ह्यान्डबल मैदानमा आज एक भव्य कार्यक्रम आयोजना गरियो । प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गरे । क्षेत्र नं. ४ का सांसद गगन थापाले सदाबहार खेलकुद समाजको प्रशंसा गर्दै नेपाली खेलकुद क्षेत्रका बारेमा सटिक भाषण गरे, रविन अधिकारीले छोटो तर व्यांग्यात्मक बोले, राजु श्रेष्ठले खेलकुदमा युवाहरुको भूमिका र प्रयासको बारेमा सकारात्मक सन्देशयूक्त भावना पोखे, उद्धब खरेलले स्थानीयस्तरमा भएका राष्ट्रियस्तरको खेलले स्थानीय क्षेत्रको विकासलाई उजिल्याउने बताए ।समग्रमा राजनीतिनै राजनीतिमा रुमिल्लिएको नेपाली खेलकुद क्षेत्रभित्र कुनै संस्थाले एउटा खेललाई यसरी महत्व दिएर बेलाबेलामा प्रतियोगिता आयोजना गर्नु चानचुने कुरा हैन, प्रशंसा गर्नै पर्ने भएर प्रशंसा पनि पायो सदाबहार खेलकुद समाजले । साथै संस्थाले आज तिनै ठूला पदमा बसेर पनि आरोपको पगरी गुथेर बसेको भनिएका व्यक्ति मध्ये एक नेपाल ह्यान्डबल यसोसियसनका कोषाध्यक्ष मिठाराम अधिकारीलाई सम्मानसमेत गर्यो । “काम नगर्ने, ठूला कुरा मात्र गर्नेलाई सम्मान दियो भने केही गर्छ कि भन्ने आशमा सम्मान गरिएको होला”, कार्यक्रममा आएका एक स्थानीयले कपन अनलाइनसँग भने ।
सदाबहार खेलकुद समाजले गरेको ह्यान्डबलको यो प्रतियोगितालाई सकभर राष्ट्रियस्तरको बनाउँदै हरेकवर्ष आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रमका संयोजक बद्री भट्टराईले जनाकारी दिए । ४ दिनसम्म चल्ने यस प्रतियोगितामा आर्मी, पुलिस, शसस्त्रलगायत ९ टिमको सहभागिता रहेको छ ।
कार्यक्रममा गगन थापाले के भने भिडियो हेर्नुस्
https://youtu.be/zsd-MF8F3Ew