गगन थापा र राजु श्रेष्ठको एकअर्कामा सौहाद्रपूर्ण व्यवहार

100EOS5D

कपन अनलाइन, काठमाडौ‌, जेठ १५, २०७३

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ४ ले आयोजना गरेको विकास निर्माणसम्बन्धि प्रशिक्षण कार्यक्रममा आज पहिलो पटक सांसद गगन थापा र क्षेत्रीय सभापति राजु श्रेष्ठ एकै मञ्चमा देखिए । क्षेत्र नं. ४ को पहिलो औपचारिक कार्यक्रमका आयोजक राजु श्रेष्ठ र अतिथि सांसद गगन थापाले प्रचारमा आएजस्तो व्यवहार देखाएनन् । बिहान ७ बजे नै कार्यक्रम स्थलमा आइपुगेका क्षेत्रीय सभापति राजु श्रेष्ठ र अतिथि बनेर आएका केन्द्रिय सदस्य सांसद गगन थापाको भेट सूर्य क्याटरिङको गेटमै भयो । दुवैले नमस्कार गरे । सौम्य मुद्रामा एकअर्काको हालखबर सोधे । एकछिन हातसमाएर उभिए । सँगै उभिएर अरु कार्यकर्तासँग कुराकानी गरे । दुवैको अनुहारमा प्रफुल्लता थियो । कार्यकर्ताहरुसँग ठट्टासम्म गर्न भ्याए दुवैले । कार्यक्रम शुरु हुन पूर्व मंचमा बोलाउनु अघि दुवैजना सँगै दर्शकदीर्घाको पहिलो हारमा बसे, केही भलाकुसारी गरे । मन्चमा सभापति बनेका राजु र अतिथि बनेका गगनका बीच सांसद दीपक गिरी थिए तथापि दुईजना हाँसेर कुरा गर्दै गरेको धेरैले अनुभूति गरे ।

सांसद तथा केन्द्रिय सदस्य गगन थापले आफ्नो करिब ७ मिनेट लामो अर्थपूर्ण भाषणको क्रममा कसैलाई बिझाउने कुरा गरेनन् । क्षेत्रमा देखिएको भनेको वेमेललाई सम्बोधनै गरेनन् । उनले सम्बिधान, आगामी दिनमा हुने निर्वाचन र वर्तमान सरकारका बारेमा कसैलाई हत्तपत्ति पत्तो नभएको कुरा भने । विकास निर्माणसम्बन्धि प्रशिक्षण आयोजनाप्रति क्षेत्रीय सभापतिलाई बधाई तथा शुभकामना दिए । त्यसैगरी सभापतिको मन्तव्य क्रममा राजु श्रेष्ठले केही इतिहासको कुरा उठाए, नेपाली राजनीतिमा विकासका काम नेपाली कांग्रेसले मात्र गरेको भन्दै उनले लिच्छविकालदेखि राणाकालहुँदै प्रजातन्त्रसम्मका उदाहरण दिँदै विकास निर्माणमा कांग्रेसको योगदानको चर्चा गरे । राजुले आफ्ना मन्तव्यको क्रममा कतै पनि क्षेत्रमा वेमेल छ भन्ने छनकसम्म दिएनन् । कार्यक्रममा सहभागि एकजनाले कपन अनलाइनसँग भने, ‘गगन र राजु दुवैमा कुनै खोट छैन, तर उनीहरुलाई अनावश्यक उचाल्ने केही पात्रका कारण यो वेमेलको हाउगुजी देखिएको हो, जुन केही समयमा आफै हटेर जान्छ ।’

यद्यपि गगन थापाका मानिस भनेर चिनिएका केही क्षेत्र नंं ४ का चलेका नाम कार्यक्रममा उपस्थित थिएनन् । तीमध्ये केहीलाई नबोलाइएको चर्चा चलेको थियो । कार्यक्रममा उपस्थित भएका गगन थापाका भनिएका मानिसहरु चुपचाप देखिन्थे भने उनीहरुको मलिन झैँ लाग्ने अनुहार देखेर केही राजु श्रेष्ठका भनिएका व्यक्तिहरु खिशी गरिरहेको परिदृश्य देखिन्थ्यो । कार्यक्रममा बोल्ने क्रममा क्षेत्रीय सदस्यमा हालै मनोनित भएका श्रीराम लामिछानेले क्षेत्रमा वेमेलको बारेमा केही प्रशंग उठाए पनि उनको त्यो कुरालाई न कसैले ताली बजाए न कसैले ध्यान दिए । कार्यक्रमबाट छुट्टिने बेलामा एकपटक फेरि गगन थापा र राजु श्रेष्ठबीच भेटघाट भयो । मन्दमुस्कानसहित उनीहरु छुट्टिए । नेपाली कांग्रेस क्ष्ोत्र नं. ४ को इतिहासमै सबैभन्दा ठूलो र महत्वपूर्ण कार्यक्रम गर्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २ घन्टा चलेको कार्यक्रमभरी बसेर बक्ताहरुको कुरा सुने । देउवा स्वयम्ले भने छोटो बोले ।

हेर्नुस् भिडियो :-

तपाइँको प्रतिक्रिया ।