राष्ट्रिय महिला लिग :- पुलिस र आर्मी भिड्ने

राष्ट्रिय महिला लिग :- पुलिस र आर्मी भिड्ने

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सोमबार आमनेसामने हुने भएका छन् ।

WomenLeague-n.jpg

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा अपराह्न ३ः३० बजे खेल सुरु हुनेछ । प्रतियोगितामा पुलिस समूह ‘ए’ को विजेता तथा आर्मी समूह ‘बी’ को उपविजेता हुन् ।

यसअघि तीन खेल खेलेको पुलिसले प्रतियोगितामा अपराजित रहँदै नौ अङ्क जोडेको छ । त्यस्तै समान तीन खेल नै खेलको आर्मीले दुई खेलमा जित तथा एक खेल बराबरी खेलेको छ । आर्मीको सात अङ्क छ । त्यसैगरी पुलिस क्लब साबिक विजेता तथा त्रिभुवन आर्मी क्लब उपविजेता हुन् ।

त्यसैगरी मङ्गलबार हुने दोस्रो सेमिफाइनल खेलमा भने पूर्वाञ्चल महिला फुटबल टोली र सशस्त्र प्रहरी बल (एपिएफ) आमनेसामने हुनेछन् । पूर्वाञ्चल समूह ‘ए’ को उपविजेता हो भने एपिएफ समूह ‘बी’ को विजेता हो ।

जारी प्रतियोगितामा तीन खेल खेलेको पूर्वाञ्चलले एक खेलमा जित, एक खेलमा हार तथा एक खेल बराबरी खेलेको छ । पूर्वाञ्चलको चार अङ्क छ । त्यसैगरी समान तीन खेल नै खेलेको एपिएफले दुई खेलमा जित तथा एक खेल बराबरीको नतिजा ल्याएको थियो । एपिएफको सात अङ्क छ ।

प्रतियोगिताका विजेताले रु दुई लाख तथा द्वितीयले रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर, फर्वार्ड, मिडफिल्डर, डिफेन्डर तथा प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् । रासस

तपाइँको प्रतिक्रिया ।