सागमा विजयी खेलाडीलाई बधाई तथा पुरस्कार

काठमाडौँ, ११ फागुन । भारतमा हालै सम्पन्न १२औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत जुडोमा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नेपाल जुडो सङ्घले नगदसहित सम्मान गरेको छ ।

RoS-Ktm-SAG (1)
नेपाल जुडो सङ्घले मङ्गलबार राष्ट्रिय खेलकुद परिषदमा १२औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत जुडो प्रतियोगितामा विजयी खेलाडीलाई बधाई तथा नगद पुरस्कार वितरणपछि सामूहिकरुपमा । तस्बिर ः रोशन सापकोटा, रासस


यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले नगदसहित सम्मान गर्नुभएको हो । जसमा स्वर्ण पदक विजेताले रु ५० हजार, रजत विजेताले रु ३० हजार र कास्य विजेताले रु २० हजार प्राप्त गरे ।

स्वर्ण पदक जित्ने खेलाडीमा फुपूल्हामू खत्री, रजत प्राप्त गर्नेमा लीला अधिकारी र मनिता श्रेष्ठ प्रधान रहेका छन् । त्यस्तै कास्य पदक हासिल गर्नेमा सरिता चौधरी, गङ्गा चौधरी, पुनम श्रेष्ठ, ईन्द्रबहादुर श्रेष्ठ, रमेश मगर र शिवबहादुर बराम रहेका छन् ।

त्यसैगरी, प्रशिक्षकद्वय दलबहादुर गुरुङ र ईन्द्र डङ्गोललाई जनही रु २० हजार र व्यवस्थापक देवु थापा र गङ्गाबहादुर खड्कालाई जनही रु १५ हजार प्रदान गरियो ।

साथै, जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले आफ्नो व्यक्तिगततर्फबाट विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई करिब रु एक लाख चार हजार बराबरको ‘कार्पेट’ प्रदान गर्नुभयो । सोही अवसरमा प्रमुख अथितिसमेत रहनुभएका राखेप सदस्यसचिव विष्टलाई मायाको चिनो स्वरुप ‘कार्पेट’ प्रदान गरिएको थियो ।

सदस्यसचिव विष्टले स्वर्ण पदकको सङ्ख्यालाई हेर्दा नेपाल कमजोर देखिएपनि समग्रमा सबै खेलाडीले आफ्नो खेल कौशललाई पूर्णरुपमा प्रयोग गरेकाले स्वर्णलाई मात्र महत्व दिएर अन्य खेलाडीलाई अन्याय गर्न नहुने बताउनुभयो ।

स्वर्ण पदकधारी खत्रीले स्वर्ण जित्नु जीवनकै अविस्मरणीय क्षण रहेको बताउँदै आगामी दिनमा राष्ट्रका लागि थप पदक प्राप्त गर्न लालायित भएको बताउनुभयो । बाह्रौँ सागमा सहभागी आठ देशमध्येबाट छैटौँ स्थानमा चित्त बुझाएको नेपालले तीन स्वर्ण २३ रजत र ३४ कास्य गरी जम्मा ६० पदक प्राप्त गरेको थियो । रासस

तपाइँको प्रतिक्रिया ।