श्याम र टंक के गर्दैछन् बुनपा १२ र १४ मा ?

श्याम र टंक के गर्दैछन् बुनपा १२ र १४ मा ?

IMG_9910

नेपाली कांग्रेस १३ औँ महाधिवेशन विशेष

कपन अनलाइन/ माघ ५, २०७२
करिब २ दशक अघि वामपन्थी पृष्ठभूमिबाट नेपाली कांग्रेसमा आएका दुईजना व्यक्ति यतिखेर बुनपाको सबैभन्दा ठूला दुई वडा वडा नं. १२ र १४ मा नेपाली कांग्रेसको राजनीतिमा अग्रस्थानमा सक्रिय छन् । वामपन्थी पृष्ठभूमिबाट एकाएक नेपाली कांग्रेसमा आउँदा पहिलादेखि नेकामा सक्रिय व्यक्तिहरुलाई चिसो पसेको थियो यिनीहरु किन आए भनेर । भर्खर माओवादीले जनयुद्ध शुरु गरे ताका यसरी दुईजना व्यक्ति नेकातिर लाग्नुले कतिपयलाई यिनीहरुलाई सेफल्यान्डिङ गर्न नेका प्रवेश गरेको पनि भने । यी थिए काभ्रे जन्मघर भएर चितवनहुँदै कपन आएका श्याम डोटेल भनिने डिल्लिप्रसाद डोटेल र सिन्धुपाल्चोक जन्म भएर काठमाडौं बसाइँ आएका शम्भु सापकोटा भनिने टंक सापकोटा । दो जिस्म एक जान भने झै श्याम र टंकको सँधैभरी एकभएर हिँडेको देखियो । मनमुटाव वा झैझगडा खासै देखेनन् कसैले । दुई दशकपछि पनि यी दुई यत्तिकै काँधमा काँध मिलाएर हिँडेको देख्न सकिन्छ ।

नेका प्रवेशसँगै ०५४ जेष्ठको स्थानीय निकाय चुनावमा श्याम र टंक दुवैले पार्टीलाई सहयोग गरे । तत्कालिन अवस्थामा कपन गाविसको वडा नं. १ मा उनीहरुले गरेका प्रयास सफल भएन यो वडामा एमालेले विजय प्राप्त गर्यो । ती यताका दिनमा जति पनि चुनाव भए यी दुई दत्तचित्त भएर पार्टीका पक्षमा उभिए । यद्यपि यी दुवैलाई कपनतिर नेकामा काँठे बिरोधी भनेर पनि चिनियो । श्याम र टंक नेकामा प्रवेश पछि नेकाले २ वटा महाअधिवेशन गर्यो, दुवै महाधिवेशनमा आफ्नो क्षेत्रको राजनीतिमा यी दुवै सक्रिय देखिए । आफ्नो मनले खाएका मानिसलाई क्षेत्रमा, जिल्लामा पुर्याउन सफल भए । यतिमात्र हैन, आफ्नो मनले नखाएका मानिसलाई उठ्नै नदिने रणनीतिमा यी दुवै सफल भए ।

पार्टीको १२ औं महाधिवेशनमा आफ्ना केही अचेतनाका कारण श्याम डोटेल बुथमा पराजित भए । आफूले क्रियाशिल प्रदान गरेका केही व्यक्तिले धोका दिएको उनको आरोप रह्यो । त्यो आरोप अझै पनि उनको मनमा बसिरहे पनि अब उनी त्यो पाठबाट धेरै कुरा सिक्दै अघि बढेको बताउँछन् । बाह्रौँ महाधिवेशनमा बुथमा पराजित भएपछि धेरैले श्याम डोटेलको राजनीति अब सकियो भन्ने गरेका थिए तर एकाएक कपन बुढानिलकण्ठ नगरपालिकामा गाभिए पछि श्याम देशकै नगरपालिकाहरुमध्ये सबैभन्दा ठूलो वडाको वडा नागरिक मञ्चका संयोजक बनेर आए । सबैलाई चकित बनाउँदै आफू राजनीतिमा सक्रिय रहेको बोध गराए । वडा नागरिक मञ्चमा १ वर्ष सक्रिय रहँदा बुनपामा सबैभन्दा विकासका काममा गतिशिल व्यक्ति भनेर पनि उनले प्रशंसा पाए । विकासमा सक्रिय रहेको आफ्नो इमेजलाई उनी १३ औँ महाधिवेशनमा प्रस्तुत गर्न चाहन्छन् । १३ औं महाधिवेशनको पूर्व सन्ध्यामा नविकरण तथा नयाँ भरिएका क्रियाशिलमा उनले आफू अनुकुलका मानिसप्रति सचेत बने । तेह्रौ महाधिवेशनमा श्याम वडा नं. १२ को इकाई सभापतिमा उठ्दै छन् । उनको सोच इकाइमा जितेर नगर कमिटिको महत्वपूर्ण पदमा पुग्ने पनि रहेको छ । स्थानीय निकायको निर्वाचनमा उनी बुनपामा आफूलाई अब्बल पार्न कोशिस गरिरहेको उनी बताउँछन् ।

nc1

नेपाली कांग्रेसको १२ आँै महाधिवेशनमा नै कपन गाविसको इकाइमा सभापतिका लागि सर्वसम्मत बनिसकेका टंक सापकोटाले पार्टीको संगठन र भविष्यका लागि विनोद चालिसेलाई सभापति दिएर आफू उपसभापतिमा बस्दै कपनको राजनीतिमा लम्बि रेसका घोडा बन्न सफल भएका थिए । बुनपा निर्माणपश्चात बनेको वुनपा वडा नं. १४ को नेका इकाईका सभापतिमा पनि टंकलाई नै पार्टीले पत्यायो । कपन गाविस यथाबत रहेको भए पनि १३ औं महाधिवेशनमा टंक नै सभापतिमा उठ्ने कुरामा संभवत दुईमत थिएन । बुनपाको १४ नं. वडामा उनले सभापतिको उम्मेदवारी घोषणा गर्दा अर्काे अधिवेशनमा नयाँ साथीहरुलाई बाटो खोल्ने बताएर राजनीतिमा प्रजातान्त्रिकरणको छनक दिएका छन् । इकाइमा जितेर नगरमा वा क्षेत्रमा जाने नजाने बारेमा खासै निर्णय नगरेका टंकले आफ्नो भावी इकाइको टिम पनि तयार बनाएका छन् यद्यपि उनले बुथमा जानका लागि आफूले कुनै टिम नबनाएको बताए । बुथमा स्वतन्त्ररुपमा जो सुकैले उठ्न सक्ने वातावरण बनोस् भन्ने मेरो चाहना छ, उनले थपे ।

बुनपाको सबैभन्दा ठूलो वडाहरु भएका कारण यतिखेर बुनपा तथा नेका क्षेत्र नं. ४ को सबैभन्दा धेरै ध्यान यही वडानं. १२ र १४ मा रहेको छ । यी वडाहरुमा संभावना भन्दा चुनौति बढि भएकाले पनि इकाई सभापति भएका कारण स्थानीय निकाय निर्वाचनमा स्वतः वडाध्यक्षको दावी गर्न पाउने भएकाले श्याम र टंकको सभापति दावीसँगै बुनपा वडा १२ र १४ को विकासको गति पनि उनीहरुसँगै तानिएर जान्छ । आगामी केही दिनका गतिबिधि र संतुलनले १३ औँ महाधिवेशनमा उनीहरुको भविष्य बताउनेछ । यद्यपि दुवैजना सभासद गगन थापाको नजिकका व्यक्ति पनि भनेर चिनिने भएकाले क्षेत्रीय स्तरबाट पनि उनीहरुलाई सहयोग पुग्ने अनुमान भने गर्न सकिन्छ । तर क्रियशिल सदस्यहरुको अन्तिम नामवाली नेकाको वेवसाइटमा आएपछि एकाएक केही महत्वपूर्ण नामहरु गायब हुनुसँगै उनीहरुको मन भने चिसिएका छन् ।

श्याम डोटेल आफ्नो वडामा सर्वसम्मत हुने सम्भावना रहेको छ । उनलाई इकाई सभापतिमा प्रतिष्पर्धा गर्ने भनिएका नारदमणि घिमिरेको नाम क्रियशिल लिस्टमा नहुनुको फाइदा श्याम डोटेललाई पुग्न सक्ने देखिन्छ भने वडानं. १४ मा टंक सापकोटालाई युवा प्रतिष्पर्धी होमनाथ तिमिल्सिनाले टक्कर दिने कुरा सार्वजनिक भैसकेको छ ।

तपाइँको प्रतिक्रिया ।