क्षेत्र नं.४ नेपाली कांग्रेसमा महाधिवेशनको रन्को !!
कपन अनलाइन\ पुष १६, २०७२
कपन अनलाइन समाचार विश्लेषण
नेपाली कांग्रेसको १३ औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र तीब्ररुपमा आन्तरिक गतिबिधिहरु भैरहेका छन् । स्वभाविकरुपले काठमाठौं क्षेत्र नं. ४ प्रति मानिसको बढि रुचि हुने गरेको छ । नेपाली कांग्रेसका सबैभन्दा प्रतिभाशाली युवा नेताको रुपमा परिचय बनाएका गगन थापाको क्षेत्र भएका कारण यस क्षेत्रमा अधिवेशन कस्तो हुन्छ भन्ने चासो सबैतिर छ । प्रत्यक्षरुपमा गगन थापा आफ्नो क्षेत्रमा आफ्नो मनले खाएका मानिसहरु १३ औँ महाधिवेशन पनि देख्न चाहन्छन् । त्यही अनुसारको तयारी उनले गरेका छन् । हिजोका दिनमा उनका बिरोधी भनेर चिनिएका मानिसहरुलाई समेत मिलाएर जाने सोचमा गगन थापा रहेका छन् । उनी भन्छन्, “संबिधानमा संघियताको व्यवस्था साथै बुढानीलकण्ठ नगरपालिका निर्माणपश्चात राजनीतिमा यतिधेरै पोष्टहरु बनेका छन् कि हामीसँग रहनुभएका संभावना भएका साथीहरुलाई स्थानको अभाव नै छैन । साथीहरुको क्षमताका आधारमा नगरपालिकाको मेयर, पार्टीको नगर अध्यक्ष्यदेखि एमएलएसम्मका पोष्टहरु भएकाले अनावश्यक प्रतिष्पर्धा वा कसैलाई काखापाखा गर्न आवश्यक छैन ।” सभासदसमेत रहेका थापाले थपे, “सबैलाई योग्यता क्षमताका आधारमा मिलाएर जान्छु । भेटघाटलाई तिब्रता दिएको छु ।”
काठमाडौं नेपाली कांग्रेसमा प्रकाशमान सिंह र गगन थापाको आन्तरिक प्रतिष्पर्धा देखिन्छ । गएको १२ औँ अधिवेशनदेखि देखिएको यो प्रतिष्पर्धा यस अधिवेशन झनै महत्वका साथ अगाडि बढ्ने देखिएको छ । काठमाडौंको राजनीतिमा देखिएको यही दुई गुटको समस्या क्षेत्र नंं ४ मा गगन थापाले जति नै मिलाउन खोजे पनि देखिने सम्भावना छ । यसै क्षेत्रमा निवास समेत रहेका वरिष्ठ नेता शेरबहादुर देउवा पनि यो क्षेत्रमा आफ्नो अस्तित्व देखाउने धूनमा रहेको बताइन थालेकोले गगन थापाले कसरी सबैलाई मिलाएर लैजान्छन् भन्ने चासो सबैको छ ।
न्हुच्छेनारायण श्रेष्ठ कमजोर कडि
नेपाली कांग्रेसका वर्तमान क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ गगन थापाका लागि कमजोर कडि बन्ने सम्भावना देखिएको छ । कमजोर नेतृत्व क्षमता तथा संगठन निर्माणमा उनले देखाएको अदक्षताले गगन थापाले उनलाई विश्वास गर्नु ठूलो भूल हुने बताइन्छ । पटक पटक भाषा तथा बोली तथा अन्य निजीका कारणले समेत विवादमा आइरहने श्रेष्ठ आफै गगन थापाको मानिस हैन भन्नेहरुको संख्या धेरै छ । श्रेष्ठ प्रकाशमान तथा गगन थापा दुवैसँग दाउ खेलिरहेको बताइन्छ । नाम उल्लेख नगर्ने शर्तमा एक क्षेत्रीय नेताले बताए अनुसार १३ औँ अधिवेशनमा यदि गगन थापाले आफ्नो चाहना अनुसार विजय हासिल गर्न सकेनन् भने त्यो न्हुच्छेनारायण श्रेष्ठकै कारण हुनेछ । यद्यपि गगन थापाले न्हुच्छेनारायण श्रेष्ठलाई अझै पनि आफ्नो मानिस भएको विश्वास गरेको पाइन्छ ।
क्षेत्रीय सभापतिमा श्यामकृष्ण संगतको संभावना प्रवल
क्षेत्रीय सभापति को बन्ने भन्ने विषयमा क्षेत्र नं. ४ मा भिन्न भिन्न आंकलन देखिन्छ । यद्यपि गगन थापाको प्रिय पात्र नै क्षेत्रीय अध्यक्ष हुने कुरामा दुईमत छैन तथापि राजनीतिक खिचातानीमा केही पूराना नामहरु क्षेत्रीय सभापतिमा आफूलाई प्रत्यासीको रुपमा रहेको भन्न थालेका । श्यामकृष्ण संगत जो हाल क्षेत्रीय सचिव पनि हुन् हालसम्म उनैलाई गगन थापा क्षेत्रीय सभापति बनाउन चाहेको बताइँदै आएको छ । श्यामकृष्ण संगतको निजी विचार पनि क्षेत्रीय सभापति हुने नै भए पनि मुख भने खोलेका छैनन् । त्यसैगरी न्हुच्छेनारायण श्रेष्ठ अझै एकपटक सभापति बन्छु भन्ने सोच विकास गर्न सक्छन् । त्यसै १२ औँ महाधिवेशनमा झिनो मतले क्षेत्रीय सभापतिमा पराजित भएका राजु श्रेष्ठले यसपटक पनि क्षेत्रीय सभापतिमा आफूलाई प्रत्यासी बनाउन सक्छन् । पछिल्ला समय राजु श्रेष्ठको सांगठनिक कृयाशिलता बढेको अनुमान गरिन थालिएको छ । दोस्रो संबिधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवारसमेत बनेका राजु श्रेष्ठलाई गगन थापाको आलोचकको रुपमा परिभाषित गर्नेहरु पनि देखिएका देखिन्छन् । संगत तथा श्रेष्ठद्वयको जुधाइमा कतै आफ्नो नाम क्षेत्रीय सभापति आइहाल्छ भनेर दाउ छोप्नेहरु पनि देखिन्छन् ।
इकाई बढ्नुसँगै चलखेल बढि
बुढानीलकण्ठ नगरपालिका बनेपछि क्षेत्र नं. ४ मा ८ वटा इकाइबाट एक्कासी १८ वटा इकाई भएका छन् । यसरी इकाइहरु बढेपछि बुथ कमिटिमा को आउँछ भनेर अझै लेखाजोखा गर्न सकिएको छैन । संबिधानसभा निर्वाचनमा खुलेरै गगन थापाको पक्षमा हिँड्न नसकेका कतिपय चेहरा बुथ कमिटिमा बिजयी भएर आउने संभावना देखिएको छ । इकाई सभापति तथा बुथ सदस्यको भोटले क्षेत्रीय कमिटि, जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने भएकोले एक्कासी बढेका इकाइका कारण जीतहार वा कसको वर्चश्व भनेर आंकलन गर्न सजिलो नभएको एक क्षेत्रीय सदस्यले कपन अनलाइनलाई भने ।
सबैभन्दा महत्वपूर्ण कपनका ५ वडा
साविक कपन गाविसमा बुढानीलकण्ठ नगरपालिकाका ५ वटा वडाहरु परेपछि क्षेत्र नं. ४ को अधिवेशनमा यो कपनको ठूलो भूमिका हुने देखिएको छ । ५ वटा वडाका १६ बुथ सदस्य तथा ५ इकाई सभापति हुने भएका कारण जीतहारमा कपनको भूमिका ठूलो रहने बताइन्छ । यी ५ वडामा संभावित विजेतामध्ये केही अनुहार गगन थापाका लालमोहर मानिन्छन भने केही जतिखेर पनि यताउता हुन सक्ने व्यक्तिहरु बुथमा आउने देखिन्छ । यसमा गगन थापाले सही मानिस चयन गर्न सक्छन् वा सक्दैनन् भन्ने कुरो पनि महत्वको विषय बन्न सक्छ वा उनले चयन गरेको मानिस कति प्रतिभाशाली हुन् भन्ने कुराले धेरै असर पार्न सक्ने देखिन्छ ।
कस्तो हुँदैछ कपनका ५ वडामा अधिवेशनउन्मुख राजनीतिक सरगर्मी
कपनमा १३ औँ महाधिवेशनसँगै केही पूराना वा संभावित व्यक्तिहरुको राजनीति कम्तिमा ५ वर्षका लागि पछाडि धकेलिने निश्चित छ । वडा नं. १९ मा रहेका पूराना नेता आत्माराम पौडेल तथा अच्यूत पौडेल तथा राजाराम बुढाथोकीमध्ये कोही एकको पूर्णविराम लाग्ने पक्का भएको छ । नगर कमिटिमा समेट्न नसके यी तीनमध्ये एक व्यक्ति बुथमा हार्नेछन् । वडा नं. १९ मा सन्तोष भण्डारी इकाई सभापति हुने लगभग पक्का मानिन्छ भने बक्सिङ संघका महासचिव समेत रहेका दीपक गुरुङ पनि बुथमा उठ्ने हल्ला चलेको छ । गुरुङलाई नगर कमिटिमा लैजाने पहल पनि चलेको बताइन्छ । नयाँ थपिएको अर्काे वडा वडा नंं. १८ मा कपन गाविस छँदा इकाई सभापति रहेको विनोद चालिसे र जिल्ला सदस्य शशि शर्मा बुथमा जाने प्रायः निश्चित मानिन्छ भने इकाई सभापतिमा राधेश्याम कार्कीको संभावना धेरै छ ।
साविक कपन गाविसको वडा नं. १ लाई नगरपालिकाको वडा नं. १४ बनाइएको छ । वडा नं. १४ मा बुथमा जानेहरुको संख्या २ मात्र रहे पनि हाल ४ जनाले सो पदमा दावी गरिरहेका छन् । बुथमा जान उत्सुकमध्ये क्षेत्रीय उपाध्यक्ष केशव ढकाल, कपन अनलाइनका प्रधान सम्पादक केशव पाठक, कानुन व्यवसायी विश्वनाथ दाहाल र कपन रेडक्रश सोसाइटीका सभापति बृहस्पति चालिसे रहेका छन् । यी चारैजनाबीच तीब्र प्रतिष्पर्धा हुने अनुमान गरिएको छ भने महिला बुथ सदस्यमा मञ्जु खतिवडा र कमला बोगटीबीच प्रतिष्पर्धा हुने देखिएको छ । वडा नं. १४ मा साविक इकाई सभापति टंक सापकोटालाई होमनाथ तिमिल्सिनाले इकाइमा प्रतिष्पर्धा गर्ने देखिन्छ । वडा नं. १४ मा कस्को जीत हुने कुराको अहिलेसम्म कुनै आंकलन गर्न सकिने अवस्था छैन ।
त्यसै गरी साविक कपन गाविसको वडा नं. ४ र ५ मिलाएर बनाइएको बुनपा वडा नं. १३ मा दिलिप खत्रीको इकाई सभापति करिब पक्का मानिएको छ भने बुथ सदस्यमा पूराना कांग्रेसी नेता रामकृष्ण केसीको करिब पक्का देखिन्छ । न्यूनमात्रामा कृयाशिल सदस्य रहेको यस वडामा अर्का बुथ सदस्य तथा महिला सदस्य को बन्ने कुरामा हालसम्म चर्चासम्म नचलेको बताइन्छ ।
नगरपालिकामध्ये जनसंख्याको आधारमा देशकै सबैभन्दा ठूलो वडा भनिएको बुनपाको वडा नं. १२ मा अधिवेशनको रौनक चलिरहेको छ । वर्तमान नागरीक वडा मञ्चका संयोजक श्याम डोटेल र वर्तमान इकाई सभापति नारदमणि घिमिरे इकाई सभापतिका लागि तीब्र प्रतिष्पर्धा रहेको बताइन्छ भने बुथ सदस्यहरुमा पनि जिल्ला सदस्य सागर बैजु, जिपि कोइराला कलेजका प्रिन्सिपल खिला सापकोटा, व्यवसायी रामप्रसाद लुँइटेल, दीपक कार्की र महेन्द्र पराजुलीबीच प्रतिष्पर्धा हुने देखिएको छ । ठूलो वडा भएकोले अरु पनि बुथका लागि प्रत्यासी हुन सक्ने बताइन्छ । यस वडामा १०० भन्दा बढि कृयाशिल सदस्य भएकोले बुथमा ३ जना पुरुष जान सक्नेछन् भने महिला बुथ सदस्यका लागि रिता बुढाथोकी र मिना पराजुलीबीच प्रतिष्पर्धा हुने देखिन्छ ।