बुढानीलकण्ठ नगरपालिकाको पहिलो स्थापना दिवश सम्पन्न

बुढानीलकण्ठ नगरपालिकाको पहिलो स्थापना दिवश सम्पन्न

०७२ मंसिर १७/ कपन अनलाइन
बुढानीलकण्ठ नगरपालिका स्थापना भएको एकवर्ष पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेको छ । नगरबासीलाई १ वर्ष पुगेको जानकारी दिने हेतुले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएको संघिय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टले नगरपालिकालाई सुबिधा सम्पन्न बनाउन आफू सशक्तरुपमा लाग्ने बताएका थिए । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ मिलनचोकस्थित मिलनचोक पार्टी भेन्यू आयोजना गरिएको कार्यक्रममा स्थानीय विकास अधिकारी तीर्थराज भट्टराईले १ वर्षमा बुढानीलकण्ठ नगरपालिकाले गरेको काम सरहानीय रहेको बताउँदै आउँदा दिनमै अझै प्रभावकारी बनेर अगाडि बढ्न तथा बढाउन शुभकामना दिएका थिए ।

IMG_9661
नगपालिकाको पहिलो स्थापना दिवशको अवसर पारेर आयोजना गरिएको कार्यक्रमममा नगरपालिकाभित्रका सर्वदलीय सयन्त्रका १२ पार्टीका प्रतिनिधिहरुसहित पूर्व गाविस अध्यक्षहरु उपस्थित थिए । विशेष अतिथिका रुपमा बोलाइएका सभासदहरु नरहरी आचार्य, गगन थापा, राजन भट्टराई र मिरा ध्वजु भने कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रमलाई सम्बोधन गर्र्दै बुढानीलकण्ठ नगरपालिकाका निमत्त कार्यकारी प्रमुख राजुकुमार न्यौपानेले एकवर्षबाट सिकेका पाठबाट आगामी वर्ष राम्रा एवम् प्रभावकारी काम गर्ने पाठ तथा हौसला प्राप्त भएका बताएका थिए । न्यौपानले नगरपालिकालाई सफल तथा सम्बृद्ध बनाउन राजनीतिक दल तथा स्थानीयवासीले खेलको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रमलाई उद्धवराज खरेल, लालबहादुर तामाङ, शिला लामा, अनिता उप्रेती, राजाराम सिलवासलगायत स्थानीय राजनीतिकर्मीले शुभकामना सन्देश दिएका थिए । यसअघि नगरपालिका स्थापना दिवशको अवसरमा बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको सामुदायिक विद्यालयस्तरीय हाजिरीजवाफ कार्यक्रम गरिएको थियो । हाजिरीजवाफ कार्यक्रममा गणेश उच्च मावि प्रथम भएको थियो ।

IMG_9664
कार्यक्रमको मध्यभागमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा बुढानीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेशका तर्फबाट प्रतिनिधि न्हुच्छेनारायण श्रेष्ठले आफूलाई हतार भएको र चाँडै बोल्न नपाएको भन्दै होहल्ला गरेका थिए । उनले प्रमुख अतिथिको कार्यक्रमको बीचमा बोलेर जान हुने आफूले चाँडै बोलेर जान्छु भन्दा नपाउने भन्दै होहल्ला गरेपछि केहीबेर कार्यक्रम स्थगित भएको थियो । श्रेष्ठ होहल्ला गरेर कार्यक्रमको बीचमै उठेर हिँडेका थिए उनी हिँडेपछि एमाओवादीका प्रतिनिधि रविन अधिकारी पनि कार्यक्रम छाडेर निस्किएका थिए । नेका प्रतिनिधि श्रेष्ठ कार्यक्रम छाडेर हिँडेपछि पूनः शुरु भएको कार्यक्रममा बोल्ने सबै वक्ताहरुले श्रेष्ठको रवैयाको तिखो आलोचना गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।