बुढानीलकण्ठमा ३ अर्ब ४५ करोड बजेट प्रस्ताव

बुढानीलकण्ठमा ३ अर्ब ४५ करोड बजेट प्रस्ताव

कपन अनलाइन
काठमाडौं असार ११ ।

बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ३ अर्ब ४५ करोड बराबरको बजेट सार्वजनिक गरेको छ।

नगरसभाको १८औँ अधिवेशनअन्तर्गत तेस्रो बैठकमा नगर उपप्रमुख तथा नगरसभा उपाध्यक्ष अनिता लामा ले बजेट वक्तव्य प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि कुल रु. ३,४५,००,००,००० (तीन अर्ब पैंतालीस करोड रुपैयाँ) बराबरको बजेट विनियोजन गरिएको जानकारी दिएका थिए ।

प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ रु. १,४३,३३,९६,००० (एक अर्ब त्रिचालीस करोड तेत्तीस लाख छयानब्बे हजार रुपैयाँ) तथा पुँजीगत खर्चतर्फ रु. २,०१,६६,०४,००० (दुई अर्ब एक करोड छैसट्ठी लाख चार हजार रुपैयाँ) विनियोजन गरिएको छ। कुल बजेटमध्ये पुँजीगत खर्चको हिस्सा उल्लेख्य रहेको छ।

नगरपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रगत कार्यक्रमका लागि बजेट छुट्याएको छ। शिक्षा क्षेत्रका लागि रु. ९ करोड (नौ करोड रुपैयाँ), स्वास्थ्य क्षेत्रका लागि रु. १४ करोड २५ लाख (चौध करोड पच्चीस लाख रुपैयाँ) तथा कृषि क्षेत्रका लागि रु. ९० लाख (नब्बे लाख रुपैयाँ) विनियोजन गरिएको छ। यसबाहेक नगरपालिकाले विविध २८ भन्दा बढी शीर्षकमा पनि बजेट विनियोजन गरेको जनाएको छ।

बजेट वक्तव्यका क्रममा उपप्रमुख लामाले चालु आर्थिक वर्ष २०८२/०८३ को आय संकलन विवरण पनि सार्वजनिक गर्नुभयो। उहाँका अनुसार आन्तरिक आयतर्फ रु. ४४ करोड ७७ लाख ९ हजार ८ सय ९५ रुपैयाँ २० पैसा संकलन भएको छ, जुन लक्ष्यको ८१.४ प्रतिशत हो।

त्यसैगरी बाह्य आयतर्फ रु. १ अर्ब २३ करोड ९९ लाख ४४ हजार २ रुपैयाँ प्राप्त भएको छ, जुन लक्ष्यको ७९.२३ प्रतिशत बराबर हो। आन्तरिक तथा बाह्य आय गरी कुल रु. १ अर्ब ६२ करोड १९ लाख ९ सय २ रुपैयाँ (बैंक मौज्दात बाहेक) अर्थात् ८१.४२ प्रतिशत आय संकलन भएको उपप्रमुख लामाले जानकारी दिएकी छन ।

सोही बैठकमा आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण प्रतिवेदन वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई ले नगरसभा समक्ष प्रस्तुत गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।