पाँचखाल नगरपालिकामा बिचौलिया निषेध !
कपन अनलाइन
काठमाण्डौ,चैत २५।
पाँचखाल नगरपालिकाले कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउन विचौलिया (मध्यस्थकर्ता) नियन्त्रणका लागि कडा कदम चाल्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले एक सूचना जारी गर्दै अनाधिकृत व्यक्तिहरूलाई कार्यालयभित्र प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार सेवाग्राहीका नाममा विभिन्न बहानामा अनधिकृत व्यक्तिहरू कार्यालयमा प्रवेश गरी सेवामा अनावश्यक ढिलाइ तथा अवरोध सिर्जना गर्ने प्रवृत्ति बढेपछि यस्तो निर्णय लिनुपरेको जनाएको छ। अबदेखि परिचय खुल्ने कागजातको आधारमा मात्र सेवाग्राहीलाई कार्यालयमा प्रवेश दिइने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।
सूचनामा सरकारी अभिलेख तथा कागजातमा अनधिकृत पहुँच हुन नदिन र सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्न विचौलियाको पूर्ण रूपमा नियन्त्रण गरिने उल्लेख छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले कार्यालयको अनुशासन कायम राख्दै सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन यस्तो कदम चालिएको बताएका छन्। उनले सेवाग्राहीलाई आफैं उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्न अनुरोधसमेत गरेका छन्।
उक्त सूचनाका अनुसार २०८१ पुस २ गतेदेखि लागू हुने गरी नगरपालिकाको कार्यालय परिसरमा विचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।
