वर्ल्ड स्कुल टिम चेस प्रतियोगितामा भाग लिन मार्भलस बोर्डिङ्गका खेलाडी काजकिस्तान प्रस्थान
कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउने उद्देश्यका साथ कजाखस्तानको अल्माटीमा आयोजना हुने प्रतिष्ठित बुद्धिचाल प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोली आइतबार काजकिस्तानको अल्माटी प्रस्थान गरेको छ । कार्यक्रममा विद्यालयका अध्यक्ष तथा माननीय सांसद भरत गिरीले औपचारिक रूपमा टोलीलाई बिदाइ गर्दै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
अप्रिल ६ देखि ११ तारिखसम्म काजकिस्तानको अल्माटीमा आयोजना हुने एसियाली कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वल्र्ड स्कुल टिम प्रतियोगितामा नेपालबाट ५ जना प्रतिभाशाली खेलाडी सहभागी हुनेछन् । टोलीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्दनदास टमटा र आकर्षण कुँवर रहेका छन् । टोलीका व्यवस्थापक निराजन प्रजापति तथा प्रशिक्षक रिजेन्द्र राजभण्डारी रहनेछन् ।
कार्यक्रममा विद्यालयका अध्यक्ष तथा माननीय सांसद भरत गिरीले खेलाडीहरूलाई सम्मान गर्दै भन्नुभयो, “आज यी विद्यार्थीहरू केवल प्रतिस्पर्धामा भाग लिन होइन, नेपालको झण्डा उच्च बनाउँदै विश्वसामु आफ्नो पहिचान स्थापित गर्न जाँदैछन् । उनीहरूको हरेक चालसँग राष्ट्रको प्रतिष्ठा जोडिएको छ ।”
विद्यालयका प्रधानाध्यापक डा. शिवदत्त ज्ञवालीले विद्यार्थीहरूको निरन्तर अभ्यास, अनुशासन र समर्पणको प्रशंसा गर्दै भन्नुभयो, “हामीले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा होइन, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम व्यक्तित्व निर्माण गरेका छौं । यो हाम्रो विद्यालयको शैक्षिक दृष्टिकोणको स्पष्ट प्रतिबिम्ब हो।”
शैक्षिक निर्देशक केशव लम्सालले भन्नुभयो, “हाम्रो लक्ष्य केवल जित हाँसिल गर्नु मात्र नभएर, उत्कृष्टता, अनुशासन र राष्ट्रिय गौरवको भावना बोकेका युवाहरू निर्माण गर्नु हो । यी खेलाडीहरू हाम्रो सपनाको प्रतिनिधि मात्र होइनन्, नेपालको भविष्यका दूत हुन् ।”
कार्यक्रममा अभिभावकहरूको सहभागिता रहेको । कार्यक्रम विद्यालयका उप–प्रधानाध्यापक आलोक बोहराले सञ्चालन गरेका थिए ।
