’हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला सम्पन्न

’हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला  सम्पन्न

कपन अनलाइन
काठमाण्डौ ,चैत १८।

काठमाडौँ उपत्यकाको नेवारी समुदायमा बाँसुरीको परम्परालाई आधुनिकतासँग जोड्दै  ’हङ्ग्री म्युजिसियन टेरेस’मा बाँसुरी निर्माण कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ। साउन्डबज अडियो ल्याब र नेपाल इको प्यानलको संयुक्त आयोजनामा भएको यस कार्यक्रमले रैथाने शिल्प र आधुनिक सामग्रीको संयोजनलाई जोड दिएको छ।
दीर्घकालिन पर्यटनका लागि सहयोग
कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले भक्तपुरको दीर्घकालिन पर्यटनका लागि यस्ता कार्यक्रम सहयोगी हुने विचार पोखे । उनले भक्तपुरको विकासको आधार नै पर्यटन भएकाले यस्ता गतिविधिहरुलाई अझ बढावा दिनुपर्ने खाँंचो औल्याए ।
परम्परा जोगाउन ’मेकर्स’को भूमिका
कार्यक्रममा बोल्दै साउन्डबज अडियो ल्याबका संस्थापक चन्दन ताम्रकारले कार्यशालाको आवश्यकतामाथि प्रकाश पार्नुभयो। उहाँका अनुसार, हाल काठमाडौँ उपत्यकाका नेवारी समुदायमा परम्परागत काठको बाँसुरीको ठाउँ पिभिसी पाइपबाट बनेका बाँसुरीले लिँदै गएको छ।
“परम्परालाई जीवित राख्न वाद्यवादन बनाउने कलाकारहरूको ठूलो भूमिका हुन्छ,“ ताम्रकारले भन्नुभयो। “हामीले भारतबाट आउने बाँसुरीमा निर्भर हुनुभन्दा आफ्नै युवाहरूलाई दक्ष बनाएर यहीँ आत्मनिर्भर बनाउनुपर्छ। पिभिसी पाइपको यो नयाँ टोन अब व्यावसायिक रूपमा स्थापित हुँदैछ, जसले नेवारी संस्कृतिलाई विश्वव्यापी रूपमा फैलाउन मद्दत गर्नेछ।“ उहाँले थप्नुभयो, कि यस्ता कार्यशालाले यहाँ आउने पर्यटकहरूलाई नेवारी संस्कृति र कला नजिकबाट सिक्ने अवसर प्रदान गर्दछ, जसले दिगो पर्यटनमा पनि टेवा पुग्नेछ।

तपाइँको प्रतिक्रिया ।