गोकर्णेश्वर -८ बाट नक्कली नोट सहित ६ जना पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,पुस १७।
गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलबाट हिजो नक्कली नोट सहित ६ जना पक्राउ परेका छन् ।
बुधवार नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर-८ अत्तरखेल चोकबाट ६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुका साथबाट त्रियानब्बे थान एक हजार दरका नोट बराम गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ हाल जिल्ला शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ का दावा नोर्बु शेर्पा, सोही स्थानका वर्ष ४४ का पासाङ शेर्पा, मेलम्ची नगरपालिका ३ घर भइ शंखरापुर ४ साँखु बस्ने वर्ष ३२ का प्रकाश गुरुङ, सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ शंखरापुर ६ बस्ने वर्ष ४२ की रेणुका भारती, सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ शंखरापुर ६ बस्ने वर्ष ६५ का गोकर्ण थापा र शंखरापुर ३ बस्ने वर्ष ४३ का सुक बहादुर स्याङ्बो रहेका छन् ।
