बुढानीलकण्ठ संवादको चौथो श्रृङ्खलामा स्थानीय मिडियाको भूमिकामा चर्चा
कपन अनलाइन
काठमाडौं,पुस ७।
स्थानीय विकासमा मिडियाको प्रभावकारिता र सशक्त स्थानीय मिडियाबाट समृद्ध नगरपालिका निर्माणका विषयमा ‘बुढानीलकण्ठ संवाद’ को चौंथो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
CERIN Network ले आयोजना गरेको यस संवाद कार्यक्रममा विशेषज्ञ, पत्रकार र स्थानीय जनप्रतिनिधिहरूले स्थानीय मिडियाको भूमिकामा गहन विचारविमर्श गरेका थिए ।
बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न विषयहरूलाई लिएर मासिक रूपले सञ्चालन गर्दै आइरहेको बुढानीलकण्ठ संवाद कार्यक्रम विशेषत एक स्थानीय तहलाई केन्द्रित गरेर सञ्चालनमा ल्याएको कार्यक्रम हो।
बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० को प्रायोजनमा कोटबारी घर रेस्टुरेन्ट एण्ड पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रमलाई “सेरिन नेटवर्क”का अध्यक्ष रोहन न्यौपानेले सहजीकरण गरेका थिय ।
कार्यक्रमको सुरुवातमा सहजकर्ता न्यौपानेले ‘बुढानीलकण्ठ संवाद’ को उद्देश्य स्थानीय तहका समस्याहरू आम मानिसमाझ पुर्याउने र भविष्यका योजनाहरू तयार पार्न सहयोग गर्ने रहेको बताए।
उनले यो श्रृंखला मासिक रूपमा सञ्चालन हुने जानकारी दिए। वक्ताहरूको रूपमा वरिष्ठ पत्रकार नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेल, लेखक तथा विश्लेषक सुदर्शन आचार्य ,नेपालफेस डटकमका सम्पादक माधव पौडेल, बुढानीलकण्ठ नगरपालिका नगर प्रवक्ता नवराज भट्टराई रहेका थिए ।
कार्यक्रममा सहभागीहरूले स्थानीय मिडियालाई सशक्त पार्न नगरपालिकाले विज्ञप्ति मात्र नभएर गहन अनुसन्धानका लागि आवश्यक डाटा उपलब्ध गराउनुपर्ने, स्थानीय मिडियाका पत्रकारहरूको क्षमता विकासका लागि सहयोग गर्नुपर्ने र डिजिटल साक्षरता बढाउनुपर्ने माग राखे। आयोजक टिमले आगामी महीनाहरूमा बुढानीलकण्ठका अन्य महत्त्वपूर्ण विषयहरूमा यस्तै संवाद श्रृंखला जारी राख्ने घोषणा गरेको छ।
