मिलनचोक देखि साततले सम्म बक्स कल्भर्ट निर्माणको माग गर्दै वडा नं १० का स्थानीय नगरपालिकामा
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० का स्थानीय जनताहरुले मिलनचोक देखि साततले सम्म बक्स कल्भर्ट निर्माणको माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन।
वर्षामा बाढी र हिउँदमा दुर्गन्धले आजित भएका वडा नं १० का स्थानीयहरुले वडा नं १० का अध्यक्ष तथा नगर प्रवक्ता नवराज भट्टराई सहित नगरपालिकामा पुगेर नगर प्रमुख मिठाराम अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्।
स्थानीयले पोलिस चौकीको दक्षिण तर्फको चोक देखि मिलन चोकसम्म करिब ३५० मिटर लामो बक्स कल्भर्ट निर्माणको माग गरेका छन। काठमाडौँ उपत्यका विकास प्राधिकारणबाट संचालन भईरहेका ठेक्का संख्या DCOKTM/RvW/77/78/12 र DCoKTM/RW/79/80/07 अन्तर्गत यो खण्ड समावेश नभएकोले स्थानीय बासिन्दाहरुलाई ठूलो दुःख भइरहेको भन्दै थप निर्माणको सुनिस्चितताका लागि आग्रह गरिएको हो।
नगर प्रमुख अधिकारीले भेटवार्ताको क्रममा स्थानीयहरूको समस्यालाई गम्भीरतापूर्वक सुनेको र आगामी आर्थिक वर्षको कार्यक्रममा यस खण्डको निर्माणको लागि प्रस्ताव राख्ने आश्वासन दिएका छन्। उनले भने, “स्थानीयहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै यस आवश्यक कार्यको लागि बजेट व्यवस्था गर्ने प्रयास गरिनेछ।”
त्यस्तै वडाध्यक्ष भट्टराईले भने , “यो खण्ड निर्माण चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा समेत समावेश थियो, तर बजेट अभावको कारण कार्यान्वयन हुन सकेको छैन। हामीले पटक-पटक अनुरोध गर्दै आएका छौं।”
