पहिला देश अभियानले ओली र लेखक पक्राउको माग गर्दै आज कार्तिक १६ गते प्रदर्शन गर्ने

पहिला देश अभियानले ओली र लेखक पक्राउको माग गर्दै आज कार्तिक  १६ गते प्रदर्शन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १६।

सम्वाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी शुसिला कार्कीले जेन्जीको माग अनुसार काम गर्न नसकेको भन्दै उनको राजिनामासमेत मागेका छन् ।

पहिला देश अभियानका डा.निकोलश भूषालले जेन्जी आन्दोलन मुलतः सुशासन र भ्रष्टाचार मुक्त समाज तथा कार्यकारी प्रमुखको लागि भएको तर वर्तमान सरकार उल्टो दिशामा गएको आरोप लगाए । भूषालले जेन्जीलाई गोलि हान्न आदेश दिने ओली र लेखकलाई पक्रेर अनुसन्धान गर्नु सरकारको पहिलो प्राथमिकता भएपनि त्यसो नगरेकाले आज  १६ गते प्रदर्शनमा उत्रन बाध्य भएको बताए ।

पहिला देशका संयोजक एसपी शाहले भोलिको प्रदर्शनमा जेन्जी, लघुवित्त, सहकारी, मिटर ब्याज, बैंकलगायतका पीडितले संयुक्तरुपमा प्रदर्शन गर्ने जानकारी दिए । आफूहरुले जेन्जी आन्दोलनपछि देशमा आमुल पविर्तन भएको हेर्न चाहेको तर, ठूलो बलिदानबाट आएको सरकार पुरानै व्यवस्था र भ्रष्टहरुको संरक्षक भएको आरोप लगाउँदै त्यसको विकल्प खोजिनु पर्ने माग गरे ।

पहिला देशका संरक्षक मनिराम ज्ञवालीले जेन्जी आन्दोलनको आँधिहुरीबाट निर्माण भएको वर्तमान सरकार पनि केपी ओलीको भन्दा फरक नभएकोले संविधान परिमार्जन सभामार्फत देशलाई निकास दिनुपर्ने बताए । लघुवित्त पीडित संघर्ष समितिका अध्यक्षसमेत रहेका ज्ञवालीले वित्तीय शोषणको अन्त्य र विशेष वित्तीय ऐन खारेजको माग गर्दै, त्यसको मुख्य बाधक राष्ट्र बैंक भएको आरोप लगाए ।  ज्ञवालीले केपी ओली र रमेश लेखकको स्वेच्छाचारीताले देशले ठूलो संकट भोगेको आरोप लगाउँदा जेन्जीको मर्म अनुसार वर्तमान सरकारले देशलाई अगाडी बढाउनुपर्ने माग राखेका छन् ।
जेन्जी रविकिरण हमालले आन्दोलन हाइज्याक भएको र त्यसको फाईदा गलत व्यक्तिहरुले लिदा सहिद र घाईतेहरु अपमानित भएको बताउँदै शुसिला कार्की सरकारको विस्थापनको माग गरे ।

तपाइँको प्रतिक्रिया ।