काभ्रेमा ग्यास लुकाएको आरोपमा दुईजना पक्राउ

बनेपा, २५ असोज । इन्धनको चरम अभावले जनजीवन कष्टकर भइरहेका बेला काभ्रेपलाञ्चोकमा ग्यास लुकाएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।

वाणिज्य विभागका निरीक्षण अधिकृत रत्नेस शशिको नेतृत्वमा बनेपा आएको अनुगमन टोलीले बिएण्डबी सप्लायर्सका प्रोपाइटर विरोचन थापा र चण्डी ग्यासमा काम गर्ने राजकपुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरुलाई सात दिनको म्याद थप गरी कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

बिएण्डबी सप्लायर्सले सूर्य ग्यास उद्योगका १० वटा सिलिण्डर सिल खोलेर खाली बनाएर राखेको अवस्थामा र उग्रतारा जनागाल थापागाउँमा रहेको चण्डी ग्यास उद्योगका १० वटा सिलिण्डर घरमा लुकाएर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बनेपामा केही दिनयतादेखि केही व्यवसायीले रु एक हजार ८०० देखि पाँच हजारसम्ममा लुकीछिपी ग्यास बेच्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया ।