भाद्र २३ र २४ को घटना मेरा आँखाबाट : पुरुषोत्तम नेपाल

भाद्र २३ र  २४ को घटना मेरा आँखाबाट : पुरुषोत्तम नेपाल

कपन अनलाइन

काठमाण्डौ,असोज ५ ।

सामान्यतया राजनीतिक परिवेशका सन्दर्भमा फेसबुक स्टाटस नलेखेको धेरै भयो । खै किन हो आजकाल लेख्ने जाँगर चल्दैन । तर २०८२ भाद्र २३ गतेले साह्रै बेचैन गरायो ।सोही सन्दर्भमा जेन जेडको अभियानलाई समर्थन गर्दै स्टाटस र कमेन्ट लेखियो । तर २४ को दिनभरीको क्रियाकलापले अझ बढी विचलित गरायो । यो दुइदिनको सन्दर्भमा मेरो बुझाई यस्तो रहेको छ ।

भाद्र २३ को जेन जेडको आन्दोलन स्वतः स्फुर्त रहेकोमा कुनै शंकाछैन । अझ मेरो व्यक्तिगत सन्दर्भमा भन्ने हो भने यो आन्दोलनको बारेमा २१ र २२ गते मात्र थाहा पाएको हुँ । तर तीनवयुवाहरु अलिलामै समयदेखि आन्दोलनको तयारीमा रहेछन् ।

यो तयारीमा३ वटा सन्दर्भले आगोमा घ्यूको काम गर्यो

१) सामाजिक सञ्जालमा प्रतिबन्ध

२) प्रदेशमन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको र उक्त घटनामा प्रधानमन्त्रीको प्रतिक्रिया

३) जेन जेड पुस्ताप्रति प्रधानमन्त्रीको स्वभाव बमोजिम निम्नस्तरको प्रतिक्रिया ।
तर सो दिन १२ बजे पछि जुन घटनाक्रम विकसितभयो त्यसमा केही प्रश्नहरु उब्जिएका छन् ।सायद अब यो जिज्ञासाको समाधान कसैले गर्नेछैन ।
१)उक्तदिनको नवयुवाको प्रदर्शनमा अवाञ्छित तत्वले घुसपैठ गर्न सक्ने पूर्वानुमान राज्यका सुरक्षा अङ्गलाई थियो कि थिएन?
२) थिएनभने राज्यको गुप्तचर निकाय राजनैतिक नियुक्तिका कारण असफल भैसकेको हो ?
३) थियो भने उक्त पूर्वानुमानको जानकारी रिपोर्टिङ्ग प्रधानमन्त्री र गृहमन्त्रीलाई दिइयो कि दिइएन?
४) दिइएको थिएनभने राज्यको सुरक्षानिकायको लगाम देशको कार्यकारी प्रमुखको हातबाट धेरै पहिला अन्तै गइसकेको थियो ?
५) दिइएको थियो भने गृहमन्त्री र प्रधानमन्त्रीको बिचमा आवश्यक समन्वय भयो कि भएन?
६) भएन भने राज्यको यस्तो अवस्थामा दुई ठूला दलले सरकार बनाउनु गलत भएको पुष्टि भएन र ?
७) भयो भने के प्रधानमन्त्रीले यो प्रदर्शनमा घुसपैठको सम्भावनालाई आफ्नै निकायबाट आएको सूचनालाई नजर अन्दाज गरेको हो वा विधान अधिवेशनलाई प्राथमिकता दिएर कमजोरी भएको हो ?
८) राजावादीको आन्दोलनमा मञ्चमा राष्ट्रिय गान बजिरहेको समयमा अश्रुग्याँस प्रहार गरेर सुरक्षानिकायले उत्तेजित बनाउन खोजेको र २३ गतेको आन्दोलनमा अचानक टाउको र छातीमा गोली हानेर माहोल बिगार्न खोज्नुले कतै घुसपैठ सुरक्षा निकायमै त भएन? यीदुइ घटनामा कतै आकस्मिक संयोग परेको हो कि? अथवा यो नियोजित आकस्मिकता थियो?
खैर जे होस् जे नहुनुपर्ने थियो त्यो झन् धेरै भयो । तर यो घटना पछिका प्रतिक्रिया डरलाग्दा छन् र तिनले झन् बढी त्रास सिर्जना गरेका छन् ।स्वाभाविक रुपमा तत्कालीन सरकारको प्रमुख पार्टीले यसलाई देशीविदेशी षडयन्त्रको परिणाम भनेको छ । यो हुन पनि सक्ला । त्यसका केही संकेतहरु पनि छन् ।
१) राजावादीको आन्दोलनमा देखिएको आगजनी र लुटपाट के यस्ता घटनाको पूर्वाभ्यास थियो ?थियो भने के सरकारलाई यसको पूर्वानुमान थिएन?
२) पुराना दलका केन्द्रीय, प्रादेशिक र स्थानीय नेता समेतको घर कतिपय त गल्ली भित्र थिए ।केही घण्टामै एक एक गरी पत्ता लगाउने संयन्त्र कसरी बन्यो या पूर्व रुपमै नियोजित थियो ।
३) स्वाभाविक रुपमा प्रतिपक्षमा रहेका दलहरु आफु  सत्तामा नरहेका बेलामा भएका प्रदर्शनहरुलाई आफ्नो  पक्षमा ल्याउने प्रयास गर्दछन् ।कतै त्यस्तो प्रयास दुष्पयास त बनेन ।
४) विगतका कतिपय प्रदर्शनमा सत्तारुढ दलकै युवा संगठनहरुले घुसपैठ गराएर प्रदर्शन तुहाउने प्रयास गरेका छन् ।कतै यसपटक त्यो प्रयास बुमर्याङ त भएन ।
५) आपराधिक मनोविज्ञानका मानिसलाई आफ्नो पार्टीमा आएपछि वाल्मिकी बनेकाभनेर चोख्याउने प्रचलनले आगजनी र तोडफोडमा सबै पार्टीका केही न केही देखिनुले हामी गलत रहेछौं भनेर दलहरुले स्वीकार्ने बेला भएन र ?
६) जिल्ला प्रशासनसित अनुमति लिने पक्ष पछि नदेखिनु र स्वयंसेवक बनेर प्रदर्शनमा आएको पक्ष सरकार निर्माणको हर्ताकर्ता देखिनुले दालमा कालो हैन पुरा दाल नै कालो भएको हो कि?
यी त भए स्वदेशी षडयन्त्रका संकेतहरु
अब अर्को भाष्य विदेशी षडयन्त्रको छ । अझ विशेष गरी कम्युनिष्टहरुमा आफ्नो  कमजोरी छोप्न वा आफुले  भएजस्तो नभएमा विदेशी षडयन्त्र देखिहाल्ने प्रवृत्ति छ ।विदेशी षडयन्त्र होला पनि । तर विदेशीले किन खेले भनेर पनि आफ्नै  भित्र हेर्ने हो कि ?
१) म आफैं काठमाडौं क्षेत्र नं ४ मा बस्ने मान्छे । मेरोे क्षेत्रमा जब चुनाव आउँछ तब गगन थापालाई अमेरिकी एजेन्ट र राजन भट्टराई भारतीय एजेन्ट भनेर भयंकर प्रचार हुन्छ ।हुन् वा होइनन् उनैलाई थाहा होला । अझ राजन भट्टराईले प्रबुद्ध वर्गको प्रतिवेदन चीनलाई बेचेको आरोप पनि लाग्ने गरेको छ ।
२) प्रत्येक एउटा कम्युनिष्ट पार्टी आफु  सत्ताबाट हट्ने बित्तिकै किन विदेशी षडयन्त्र देखिहाल्छन् ।
३) प्रचण्डले माधव नेपाल प्रधानमन्त्री भएको बेलामा दाससँग हैन मालिकसँग वार्ता गर्ने भाषण गरेको कति नै भएको छ र ?
४) २०४६ को आन्दोलनताका भारतीय नेता आएर चाक्सीबारीमा भाषण गरेको दस्तावेज यस पटक जल्यो कि कतै बाँकी नै छ ?
५) २०६२÷०६३ को आन्दोलनको जग भारतमै राखिएको भनेर हाम्रै नेताहरुले भनिरहेकै छन् ।
६) माओवादी जनयुद्धमा भारतीय सहयोग मागिएको पत्र सार्वजनिक भएकै छ ।
७) यसर्थ यदि विदेशी चलखेल भएकै हो पनि मैदान कसले बनायो ? दलहरुले आत्मसमीक्षा गर्नुपर्दैन ? कि त्यो पर्दैन ?
८) के माटो मात्र राष्ट्रियता हो ? राष्ट्रियता भावनापनिहो कि हैन? गोजीमा अमेरिका र यूरोपको पिआर बोकेर यहाँ राष्ट्रियताको नारा लाएर हुन्छ ?
९) आफ्ना  छोराछोरी अमेरिका र यूरोप पठाएर नेपालमै सम्भावना छ भनेर भाषण गर्न हामीले लज्जाबोध गर्नुपर्दैन ?
प्रियजेन जेड भाइबहिनी छोराछोरीहरु
तिमीहरुको प्रदर्शन तिमीहरु जस्तै शुद्ध थियो । निष्कपट थियो । तर त्यो प्रदर्शनमा धेरैले माछा मारे ।ती माछा मार्ने धेरै त मेरो पुस्ताका थिए जसले तिमीहरुलाई बदनाम गराए । तर एकपटक हेर तः
१)मृत्युवरण गर्ने धेरै जसो फेरी पनि निम्नवर्ग र निम्नमध्यमवर्गका थिए । के तिमीहरुलाई आन्दोलनमा बोलाउने कोहीपनिआन्दोलनको अग्रमोर्चामा थियो ?
२) तिमीहरुलाई प्रदर्शन गर्न उक्साउने मेरो पुस्ताका मानिसका छोराछोरी आन्दोलनमा थिए वा अग्रमोर्चामा थिए?
३) प्रश्नगर्न सजिलो छ । तर समाधान खोज्ने काम झन् कठिन छ ।
४) तेरो उमेरमा के गरिस भ नेर प्रश्न गरे ढुक्कसँग भन्न सक्छु तिमीहरुजस्तै आन्दोलित भएँ ।गोली खाएँ ।
५) तर त्यो बेलामा पनि नेताहरुले भने हामी सुध्रिन्छौं तर अँह सुध्रिएनन् । अब केही भन्दैछन् हामी सुध्रिन्छौं तर के सुध्रिएलान् ? हामी आन्दोलनमा  लाग्दा छतमा बसेर हेर्नेहरु अहिले ठूला क्रान्तिकारी बनेका छन् । तर मारिरहेछन् ।
६) हाम्रो पुस्ताको समय त यत्तिकै भयो । तर डर लाग्दैछ तिमीहरु तावाबाट उम्किएर भुङ्ग्रोमापो पर्छौ कि ?

तपाइँको प्रतिक्रिया ।