जुगल नवागुरुकुलमा पुस्तक समीक्षा प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १७।
जुगल नवागुरुकुल विद्यालयमा १८औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा उपत्यकाव्यापी अन्तरविद्यालय पुस्तक समीक्षा प्रतियोगिता सम्पन्न भएको छ।
पुस्तक पठन संस्कृतिलाई प्रवर्द्धन गर्ने र विद्यार्थीहरूमा समीक्षात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा २० वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बूढानीलकण्ठ शिक्षा तथा खेलकुद महाशाखाका प्रमुख ललित विक्रम सिंह प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले विजेता विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा लीड्सका अध्यक्ष विष्णु चन्द्र अधिकारी र बूढानीलकण्ठ प्याब्सनका अध्यक्ष राधे श्याम श्रेष्ठको पनि उपस्थिति थियो। प्रतियोगितामा हिमालय बोर्डिङ स्कुलकी सुमित्रा कार्कीले प्रथम स्थान हासिल गरिन्। त्यसैगरी, घटराज मेमोरियल स्कुलका अपश्वी सापकोटाले द्वितीय र एपेक्स लाइफ स्कुलकी निर्जाला न्यौपानेले तृतीय स्थान प्राप्त गरेका थिए ।
नेसनल ब्लुमिङ फ्लावर एकेडेमीका उजन के.सी. र रिलायन्स इन्टरनेसनल एकेडेमीकी श्रृष्टि गिरीलाई सान्त्वना पुरस्कार प्रदान गरियो। जुगल नवागुरुकुल विद्यालयले राष्ट्रिय पुस्तकालय दिवस मनाउनुको मुख्य उद्देश्य पुस्तकालयलाई ज्ञानको केन्द्रका रूपमा स्थापित गर्नु, विद्यार्थीहरूलाई पुस्तक पठनमा प्रोत्साहित गर्नु, र पुस्तकालयका सेवा तथा महत्त्वबारे जानकारी गराउनु रहेको जनाएको छ।
विद्यालयको यस पहलले विद्यार्थीहरूमा बौद्धिक विकास र रचनात्मक सोचको अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ। विद्यालयले यस्ता रचनात्मक र ज्ञानवद्र्धक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि बढ्न प्रेरित गर्ने बताएको छ।
तपाइँको प्रतिक्रिया ।
