पिक प्वाइन्ट एकेडेमीमा कृष्ण जन्माष्टमी विशेष कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ, साउन ३१।
कपन अनलाइन
काठमाडौँ, साउन ३०/ सुप्रिया नेपाल
बुढानीलकण्ठ नगरपालिका वडानम्बर १३ स्थित पिक प्वाइन्ट एकेडेमीले भोलि पर्ने कृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार विद्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गर्दै बालबालिकामा संस्कार र संस्कृतिप्रतिको चेतना जागृत गरेको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई कृष्ण र राधाको पोसाकमा सजाएर कक्षागत नृत्य, गीत र विविध सांस्कृतिक प्रस्तुति गराइएको थियो। साथै कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरूका लागि माटोबाट सिर्जनात्मक सामग्री निर्माण गर्ने क्रियाकलाप पनि आयोजना गरिएको थियो।
विद्यालयका सह–प्रधानाध्यापक महेश के.सी.ले कृष्णजन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने जानकारी दिएका छन । उनले भन्नुभयो, “यस्ता कार्यक्रमहरूले बालबालिकामा संस्कार र संस्कृतिप्रतिको आस्था बढाउँछन् र हाम्रो सांस्कृतिक पहिचान जगेर्ना गर्न सहयोग पुर्याउँछन्।”
शैक्षणिक संयोजक चिरञ्जीवी नेपालले कृष्णलीलाको स्मरण गर्दै भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई दिएको ‘कर्म गर, फलको मोह नगर्नु’ उपदेशलाई जीवनमा पालन गर्नुपर्नेमा जोड दिए । उनले कर्तव्यपालन, संस्कार र संस्कृतिको संरक्षण नै मानव जीवनको सर्वोच्च धर्म भएको स्पष्ट पारेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक बिनय श्रेष्ठ, प्राथमिक संयोजक शिला श्रेष्ठ, शिक्षक तथा कर्मचारी र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
( सुप्रिया नेपाल पिक पोइन्ट एकेडेमीमा अध्ययनरत कपन अनलाइनकी प्रसिक्षार्थी पत्रकार हुन् )
