मोटरसाइकल चोरीमा संलग्न  ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न  ३ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाण्डौ,असार १८।

   मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई हिजो काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०२-०५५ प ४० ६८ नम्बरको मोटरसाइकल सहित धादिङको गजुरी गाउँपालिका ७ घर भई हाल काठमाडौंको पशुपती बस्ने २२ वर्षीय सन्तोष कोईराला र सोही ठाउँ बस्ने २७ वर्षीय सजिर श्रेष्‍ठलाई काठमाडौंको  पशुपती मन्दिर नजिकैबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल काठमाडौंको बालाजुबाट हराएको भनि गोरखाका सुरज तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बालाजुमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो  ।

त्यस्तै, काठमाडौंकै गोकर्णेश्‍वर नगरपालिका ६ बेशीगाउँबाट पनि हिजो बागमती प्रदेश ०२-०२२ प ३४ ४८ नम्बरको मोटरसाइकल सहित काभ्रेपलाञ्चोक घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ३७ वर्षीय देवराज योञ्जनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । सो मोटरसाइकल भने काठमाडौंको बुढानिलकण्ठबाट हराएको भनि सोलुखुम्बु घर भई हाल काठमाडौंको चाबहिल बस्ने काजी शेर्पाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका योञ्जनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रवक्ता गिरीले बताउनुभयो ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।