शारदा एकेडेमीमा अभिभावक अभिमुखीकरण कार्यक्रम भव्य रूपमा सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत १०।
शारदा एकेडेमीले अभिभावकहरूलाई मार्गदर्शन गर्न तथा बालबालिकाको समग्र विकासमा उनीहरूको भूमिकाबारे जानकारी दिन शनिबार एक भव्य अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
बिहान ७:०० बजे विद्यालय प्राङ्गणमा सुरु भएको उक्त कार्यक्रम अभिभावकहरूको उल्लेखनीय सहभागितासहित १०:३० सम्म सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख वक्ता विनोद अधिकारीले अभिभावकीय उत्तरदायित्व, बालबालिकाको सर्वाङ्गीण विकास, अनुशासन तथा प्रविधिको उचित प्रयोगबारे महत्वपूर्ण मार्गदर्शन गर्नुभयो। उहाँले बालबालिकाको सफल भविष्यका लागि अभिभावकको सकारात्मक भूमिका अपरिहार्य रहेको उल्लेख गरेका थिए ।
कार्यक्रममा विद्यालयका सल्लाहकार दिनेश काजी थापा, विद्यालयका पूर्व प्रधानाध्यापक तथा हालका अभिभावक सन्तोष खड्का, र प्रमुख अतिथि सेन्टर कलेज सिनामंगलका सहायक क्याम्पस चिफ गणेश बुढाथोकीले समेत शुभकामना मन्तव्य व्यक्त गरेक्का थिए । वक्ताहरूले शारदा एकेडेमीको गुणस्तरीय शिक्षण प्रणालीको प्रशंसा गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमहरूले अभिभावक, विद्यार्थी, र विद्यालय प्रशासनबीच समन्वय बढाउने विश्वास व्यक्त गरेका छन ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद फुयालले दिनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षिका चन्द्रकला बस्नेत र सदिश थापाले गर्नु भएको थियो। करिब ५०० अभिभावकको उत्साहजनक उपस्थिति रहेको कार्यक्रममा सभापति झबी राईले अभिभावकहरूको सक्रिय सहभागिताका लागि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको औपचारिक समापन गरेका थिए ।
शारदा एकेडेमीले विद्यार्थीहरूको शैक्षिक तथा नैतिक विकासका लागि आगामी दिनहरूमा पनि यस्ता उपयोगी कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
तपाइँको प्रतिक्रिया ।